काठमाडौं- महोत्तरी-२ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालका उम्मेदवार शरतसिंह भण्डारी विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी तराई-मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गरेका भण्डारी २५ हजार १९० मत ल्याउँदै विजयी भए। पराजित सिंहले ११ हजार १२० मत पाए।
२०७४ को प्रतिनिधिसभा सदस्यमा भण्डारी राजपाबाट सोही क्षेत्रमा निर्वाचित भएका थिए।
भण्डारी २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए। २०४८ मा राप्रपाबाट चुनाव लड्दा उनी पराजित हुन पुगे। २०५१ मा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका भण्डारी २०५६ मा कांग्रेसबाट सांसदमा विजयी भए।
२०६४ को संविधान सभामा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भण्डारी हालसम्म राज्यमन्त्रीसमेत गरी १५ पटक मन्त्री बनेका छन्। उनीसँग उपप्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेको अनुभव छ।
केपी शर्मा ओलीले नेतृत्व गरेको दोस्रो पटकको सरकारमा उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका थिए। यसअघि उनी बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा रक्षामन्त्री बनेका थिए।