काठमाडौं- नेपाली कांग्रेसले कारबाही गरेपछि स्वतन्त्र उम्मेदवारी दिएका अमरेशकुमार सिंह सर्लाही-३ बाट निर्वाचित भएका छन्। सत्ताधारी ५ दलको गठबन्धनको समर्थन पाएका कांग्रेसका आधिकारिक उम्मेदवार र एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै सिंह सांसदमा निर्वाचित भएका हुन्।
सिंहले २० हजार १७ मत ल्याएर विजयी हुँदा कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५२ मत पाए।
सिंहलाई कांग्रेस सर्लाहीले स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको थियो। पार्टीको चौधौँ महाधिवेशनदेखि अमरेश र सभापति शेरबहादुर देउवाको सम्बन्धमा चिसोपना सुरु भएको थियो।
कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहसँगको खटपट र महाधिवेशनमा आफूलाई असहयोग गरेका कारण उनलाई देउवाले टिकट दिएका थिएनन्। कांग्रेसले कारबाही गरी टिकट नदिएपछि अमरेश स्वतन्त्र उम्मेदवारका रुपमा माछा चिन्ह लिएर लडेका थिए।