काठमाडौं- प्रतिनिधि सभा सदस्यकी उम्मेदवार रन्जु न्यौपाने (दर्शना)को जमानत नै जफत भएको छ।
काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी रन्जुको जमानत नै जफत भएको हो।
उनले कुल खसेको सदर मतको जम्मा १.४ प्रतिशत मत मात्रै प्राप्त गर्न सकिन्। यस क्षेत्रको सदर मत ४४ हजार २४९ रहेकोमा रन्जुले ६०० मत प्राप्त गरिन्।
निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ।
कानुन अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ।
यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका प्रदीप पौडेलले ३४.४ अर्थात, १५ हजार २५७ मत प्राप्त गरेका छन्।