काठमाडौं– ४ मंसिरमा मुलुकभर एकैसाथ सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। बिहीबार सवा १२ बजेसम्म निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मत परिणामअनुसार हालसम्म प्रतिनिधिसभामा विभिन्न पार्टीका ७३ उम्मेदवार विजयी भएका छन्।
यस पटकको प्रतिनिधिसभा निर्वाचनमा प्रमुख ४ पार्टीका ४ महासचिव÷महामन्त्री जनमत परीक्षणका लागि चुनावी मैदानमा उत्रिएका छन्। चुनावी मैदानमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उम्मेदवार रहेकामा दुवै जनमतको परीक्षणमा सफल भए। तर एमाले र माओवादी केन्द्रका दुई शक्तिशाली महासचिव पार्टी नेतृत्वका लागि लोकप्रिय रहे पनि जनताबाट भने परीक्षण हुन सकेनन्।
एमाले महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल दाङ २ बाट पराजित भए माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङसँग पराजित हुनुपर्यो। राप्रपाका महामन्त्रीद्वय धबलशमशेर राणा र कुन्ती शाही पनि चुनावी मैदानमा उत्रिएका थिए। राणालाई जनमतले स्वीकारेको छ भने कुन्ती अस्वीकृत भएकी छन्।
काठमाडौं ४ मा कांग्रेस महामन्त्री गगन थापाले एमाले उम्मेदवार राजन भट्टराईलाई पराजित गरे। थापाले २१ हजार ३०२ मत ल्याउँदा भट्टराईले १३ हजार ८५५ मत पाए।
चुनावी मैदानमा होमिएका ४ ठूला पार्टीका ६ महासचिव–महामन्त्रीमध्ये कोही जनमत परीक्षणमा सफल भए भने कोही नेतृत्वको भक्तिगान गाउँदाको परिणाम जनमत पाउन असफल रहे।
दाङ २ मा एमाले महासचिव शंकर पोखरेलले पनि पराजित भए। उनलाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले झिनो मतले हराइन्। अध्यक्ष ओलीका प्रिय पात्र पोखरेललाई एमालेको भावी नेतृत्वका रूपमा हेरिँदै आएको छ। माओवादीकी शर्माले २६ हजार ८७७ मत प्राप्त गरिन् भने महासचिव पोखरेलले २६ हजार ६८१ मत ल्याए।
लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जित हासिल गरेका छन्। नेकपा माओवादी केन्द्रको शक्तिशाली महासचिव देव गुरुङ जनमतबाट अस्वीकृत हुन पुगे। पृथ्वीसुब्बाले २७ हजार ६ मत प्राप्त गर्दा गुरुङले २४ हजार ७०८ मत ल्याए। गुरुङ केही महिनाअघि माओवादीमा अध्यक्षपछिको शक्तिशाली मानिने महासचिव बनेका थिए।
उनले दैलेख २ मा जम्मा ४ हजार ४३४ मत पाएर तेस्रो बनिन्। सो क्षेत्रमा नेकपा एकीकृत समाजवादी पार्टीका अमरबहादुर थापा विजयी भए। राजनीतिक नेतृत्वको भक्तिगान गाउने र जनमतलाई शिरोधार्य नगर्ने शक्तिशाली पार्टीका महासचिवलाई जनताले यस पटकको निर्वाचनमा हराएर सबक सिकाइदिएका छन्।