काठमाडौं– चितवन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूलो मतान्तरसहित निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन्।
चितवन जिल्ला निर्वाचन कार्यालयका अनुसार लामिछानेले ४९ हजार २६१ मत पाएका छन् भने श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन्। श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। तेस्रो स्थानमा रहेका एमालेका कृष्णभक्त श्रेष्ठले १४ हजार ६४९ मत पाएका छन्।
यो क्षेत्रमा ८४ हजार ३१७ जनाले मतदान गरेकामा लामिछानेले ४९,२६१ मत प्राप्त गरेका छन्। लामिछानेले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४ हजार १६२ भोट बढी पाएका छन्।
यसअघि चितवन–२ बाट २०७० र २०७४ मा दुवै पटक एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए। गत वैशाखको स्थानीय तह निर्वाचनमा पनि एमालेकै मत बढी थियो।
त्यसैले यो क्षेत्रमा एमालेका पोखरेल र कांग्रेसका श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान थियो। सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवन २ बाट निर्वाचनमा उठ्ने बताइएपछि रविले पनि यसै क्षेत्रलाई छानेका थिए। तर प्रचण्ड चितवनबाट गोरखा गएपछि लामिछानेले चितवन ३ बाट प्रतिनिधिसभा उम्मेदवारी दिएका हुन्।
परम्परागत रूपमा एमाले र कांग्रेसलाई मत दिँदै आएका मतदाताले यसपल्ट घन्टी चिह्न रोजेपछि रविको जित सहज भएको आकलन गरिएको छ।
लामो समयसम्म विभिन्न टेलिभिजनमा ‘सीधा कुरा जनता’ सँग कार्यक्रम चलाएर सञ्चार सेलिब्रिटी बनेका रविले अनियमितताविरुद्ध आवाज उठाएको, असहायलाई सहयोग गरेको र सामाजिक काममा सक्रिय भएको भन्दै उनको प्रशंसा गर्थे।
रविले चितवन २ लाई छान्नुको अर्को कारण चितवनमा हिरासतमा पर्नु पनि हो। २०७६ साउनमा पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको मुद्दामा रविलाई प्रहरीले चितवनमा हिरासतमा राखेको थियो। उनको समर्थनमा चितवनमा दिनहुँजसो प्रदर्शन हुँदै आएको थियो।
उनी हिरासतबाट छुटेलगत्तै ठूलो संख्याका समर्थकले स्वागत गरेका थिए। सुरुमा काठमाडौं वा चितवन कुन निर्वाचन क्षेत्रबाट लड्ने भनेर द्विविधामा रहेका रविले अन्ततः हिरासतमा परेको अप्ठेरो समय चितवनबासीले सद्भावका कारण उनी चितवन पुगे।
५ महिनाअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकाहरू काठमाडौंका ४ स्थानबाट विजयी भइसकेका छन्। रवि लामिछानेको पार्टीबाट हालसम्म काठमाडौं २ बाट सोविता गौतम, काठमाडौं ६ बाट शिशिर खनाल, काठमाडौं ७ बाट गणेश पराजुली, काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ र ललितपुर ३ बाट तोसिमा कार्कीले चुनाव जितेका छन्। यस्तै, सुनसरी १, सुनसरी २ र चितवन १ मा पनि लामिछानेको पार्टीका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्।