काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र १ र ३ को प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले क्लिन स्विप गरेको छ।काठमाडौं १ प्रदेशसभा (क) मा कांग्रेसका दीपेन्द्र श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ६ हजार ३०० प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले बताए।
श्रेष्ठ यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भई हाल बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री रहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवीन शाहीले ३ हजार ५०४ मत ल्याए। एमालेका रामप्रसाद अमगार्ईंले २ हजार २९७ मत प्राप्त गरे।
यस्तै, प्रदेशसभा (ख) मा पनि कांग्रेसकै सुरजचन्द्र लामिछाने ४ हजार ५१० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद दुलालले २ हजार ७५३ मत प्राप्त गरे।
दुलाल यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। २०७४ को प्रदेशसभा निर्वाचनमा कांग्रेसका तर्फबाट पनि लामिछाने नै प्रतिस्पर्धामा थिए। काठमाडौं–१ को प्रतिनिधिसभामा गत सोमबार कांग्रेस नेता प्रकाशमान सिंह विजयी भइसकेका छन्।
यसैगरी कांग्रेसले काठमाडौं–३ का तीन वटै सिटमा ‘क्लिन स्विप’ गरेको छ। काठमाडौं ३ बाट प्रतिनिधिसभामा सन्तोष चालिसे निर्वाचित भएका छन्। प्रदेशसभा (क) मा कांग्रेसका छिरिङदोर्जे लामा र प्रदेशसभा (ख)मा कांग्रेसकै विमल ठकुरी निर्वाचित भएका छन्।