धनगढी- निर्वाचन भएको बाजुरा तेस्रो दिनसम्म पनि बाजुरा ठप्प बनेको छ। अनेरास्ववियु केन्द्रीय सदस्य चेतन अयडीको हत्याको विषयलाई लिएर अनेरास्ववियु बाजुराले तेस्रो दिन पनि बन्द जारी राखेको हो।
जिल्ला सदरमुकाम मार्तडी, कोल्टी, फालसैनलगायतका बजार बन्द छन्। जिल्लामा यातायात, शैक्षिक सस्था, सरकारी कार्यलय चल्न सकेका छैनन्।
अनेरास्ववियु बाजुराले जिल्ला सदरमुकाम मार्तडीमा टायर बालेर विरोध पर्दशन जारी राखेको छ। सोमबारदेखि जिल्ला सदरमुकाम बन्द छ। अनेरास्ववियुका नेता अयडीको हत्यारामा संलग्न भएकाहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै अनेरास्ववियुले आन्दोलन चर्काइरहेको हो।
अनेरास्ववियु बाजुराले हत्यामा संलग्नलाई पक्राउ नगरुन्जेल आन्दोलनका चरणहरु निरन्तर जारी रहने चेतावनी दिँदै आएको छ।
ऐडीको हत्यामा सलग्न रहेकोमा आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ। यता जिल्ला प्रशासन कार्यालयले भने अहिले स्थिति सामान्य रहेको बताएको छ। बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बजार, सार्वजनिक संघसंस्था र विद्यालय सञ्चालनमै रहेको दाबी गरेका छन्।
जिल्लाको त्रिवेणी नगरपालिका ७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादमा २ जनाको मृत्यु भएको थियो। आइतबार मतदान केन्द्रमा तनाव भएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर त्रिवेणी–७ का सञ्जीव अयडी र चेतन अयडीको ज्यान गएको थियो।