काठमाडौं– बर्दिया २ मा स्वतन्त्र उम्मेदवार रेशम चौधरीका पिता लालवीर चौधरी विजयी भएका छन्।
उनी गठबन्धनका उम्मेदवार सुरेश पन्तलाई १३५ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।आधिकारिक घोषणा हुन भने बाँकी छ।
लालवीरलाई रेशमपत्नी रञ्जीता श्रेष्ठ चौधरीको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको थियो।
नागरिक उन्मुक्तिका संरक्षकसमेत रहेका रेशमले उक्त क्षेत्रबाट उम्मेदवारी दिएका थिए। तर जिल्ला निर्वाचन आयोगको कार्यालयमा उनीविरुद्ध उजुरी परेपछि उम्मेदवारी खारेज भएको थियो। टीकापुर जिल्ला अदालत र उच्च अदालतले टीकापुर हत्याकाण्डको प्रमुख अभियुक्तका रुपमा दोषी करार गरेको थियो। रेशम डिल्लीबजार कारागारमा छन्।
रेशमको उम्मेदवारी खारेज हुनसक्ने आकलन गरेर उन्मुक्तिले सुरुमै उनका बुवा लालवीरलाई उम्मेदवारी दिन लगाएको थियो। रेशमको उम्मेदवारी खारेज भएपछि नागरिकले उनलाई समर्थन गरेको थियो।
लालवीरले धारा चुनाव चिह्न पाएका थिए।