विराटनगर- प्रदेश १ का पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र भीमप्रसाद आचार्य पछाडि परेका छन्। ०७४ मा भोजपुर र सुनसरीबाट प्रदेशसभामा निर्वाचित भएका राई र आचार्य यस पटक प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा छन्।
एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका राई नेकपा माओवादी केन्द्रका सुदन किरातीसँग प्रतिस्पर्धामा छन्। भोजपुरमा किरातीले अग्रता कायम गरेका छन्। किराँतीले ३ हजार २४५ मत ल्याउँदै अग्रता कायम गरेका छन्। उनलाई पुर्व मुख्यमन्त्री राईले २ हजार ६४१ मतका साथ पछ्याईरहेका छन्। किराती निवर्तमान प्रतिनिधिसभा सदस्य हुन्।
सुनसरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धामा रहेका पूर्व मुख्यमन्त्री भीमप्रसाद आचार्य तेश्रो स्थानमा रहेका छन्। सुनसरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले अग्रता कायम गरेका छन्। उनले ८९४ मतका साथ अग्रता कायम गरेका हुन्। थापालाई नेपाली कांग्रेसका सिताराम महतोले ७०५ मतका साथ पछ्याईरहेका छन्। महतो प्रतिनिधिसभाका निवर्तमान सदस्य हुन । एमालेका आचार्य ६२६ मताका साथ तेश्रो छन्।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भने भोजपुर १ (क)मा अग्रता कायम गरेका छन्। एकीकृत समाजवादीका राईले ३ हजार ५३७ मतका साथ अग्रता कायम गरेका छन्। उनलाई एमालेका हरिकुमार राईले २ हजार ८९ मतका साथ पछ्याईरहेका छन्।