चितवन- चितवनका तीन निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। चितवन-१ र चितवन-२ मा रास्वपा अघि हुँदा चितवन-३ मा राप्रपा अघि देखिएको छ।
चितवनको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायम गरिराखेको छन्। उनले ६ हजार ३६७ मत ल्याउँदा नेकपा (एमाले)का सुरेन्द्र पाण्डेले ५ हजार ३९९ मत प्राप्त गरेका छन्। यस्तै, गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डा विश्वनाथ पौडेलले ५ हजार २९५ मत प्राप्त गरेका छन्।
चितवन-२ मा एमालेका कृष्णभक्त पोखरेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन्। इच्छाकामना गाउँपालिकाको मतगणना हुँदासम्म तेस्रो स्थानमा रहेका लामिछानेले कालिका नगरपालिकाको मतगणना थालेपछि पोखरेललाई १२८ मतले पछि पार्दै अघि लागेका हुन्। लामिछानेले ४ हजार ७ मत ल्याउँदा एमालेका पोखरेलले ३ हजार ८७९ मत ल्याएका छन्। यस्तै कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत ल्याएका छन्।
चितवन-३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम गरेका छन्। पाण्डेले ४ हजार ७७८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार जिता बरालले ४ हजार मत ल्याउँदै दोस्रो स्थानमा छिन्। यस्तै माओवादी उम्मेदवार भोजराज अधिकारीले ३ हजार ८२७ मत ल्याएका छन्। कांग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार दिनेश कोइरालाले ३ हजार १७५ मत ल्याएर चौथो स्थानमा छन्।