काठमाडौं– चितवन क्षेत्र–२ को जारी मतगणनाको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता लिइरहेका छन्। ढकालले ६ हजार ३६७ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका एमालेका सुरेन्द्र पाण्डेले ५ हजार ३९९ मत र कांग्रेसका विश्वनाथ पौडेल ५ हजार २९५ मत ल्याउँदै तेस्रो नम्बरमा छन्।
ढकाल पाण्डेभन्दा झन्डै १००० मतले अगाडि छन्। ढकालले मत परिणाम स्वाभाविक भएकाले यसलाई अप्रत्यासित भन्न नमिल्ने जिकिर गरे। उनले भने, ‘यो युवा जागरण आन्दोलनको आवाज मतपेटिकामा देखिएको हो। यसका लागि हामीले पहिलादेखि नै तयारी गरेका थियौं। अप्रत्यासित होइन।’
स्थानीय तह निर्वाचनमा काठमाडौंमा बालेन, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमालले अग्रत लिएपछि ३ असारमै अबको संसदीय चुनाव हेर्न लायक हुने बताएको उनले स्मरण गरे। उनले भने, ‘युवाहरु जागेको देख्न पाउनुहुनेछ भनेको थिएँ। अहिले त्यही भएको हो।’
उनले चुनाव आफ्ना लागि अवसर भएकाले समाज सेवामा लागिरहने र निर्वाचित भए त्यसलाई निरन्तरता दिने उनको भनाइ छ। उनले भने, ‘विगतमा हामीले अन्य दललाई प्रेमिल र हार्दिकताको चुनाव लडौं भनेको हो तर उनीहरुले मानेनन्। त्यसको समीक्षा चुनावपछि हुँदै गर्ला। हामीले आशाको दियो बाल्न लागेका छौं। यसलाई निभ्न दिँदैनौं।’
मतगणनामा कांग्रेस, एमाले पछि परिरहँदा र घन्टीले अग्रता लिइरहँदा पूर्वी चितवन पछाडि पर्छ कि भन्ने प्रश्न सही नभएको उनको दाबी छ। उनले भने, ‘त्यस्तो आकलन रहेछ। तर त्यो काठमाडौंको स्थानीय तह चुनावलाई हेर्दा हुन्छ। काठमाडौंमा काम भएको छैन?’