पोखरा- कास्की-१ मा प्रतिनिधि सभाको मतगणना गर्दा प्रदेशसभाको मतपत्र भेटिएपछि गणना रोकिएको छ। प्रतिनिधि सभाको मतपत्र दिनुपर्नेमा निर्वाचनमा खटिएका कर्मचारीले प्रदेशसभातर्फको मतपत्र दिएको र त्यही अनुसार मतपत्र पाइएपछि विवाद निस्किएर गणना रोकिएको हो।
मादी गाउँपालिका वडा नम्बर ५ कार्यालयमा रहेको मतदान केन्द्रमा भइरहेको मतगणनामा मतपत्र अदलबदल भएको पाइएपछि गणना रोकेर छलफल गर्ने तयारी थालिएको छ।
प्रतिनिधि सभातर्फको मतपेटिकामा प्रदेश सभातर्फका ९९ मतपत्र भेटिएको छ। त्यस्तै प्रतिनिधि सभातर्फ उक्त केन्द्रमा १०४८ मत खसेकोमा १०४७ मत भेटिएको छ।
हालसम्मको गणनाअनुसार कास्की-१ मा एमालेका उम्मेदवार मनबहादुर गुरुङले अग्रता बनाइरहेका छन्। गुरुङले ४ हजार २७९ मत ल्याएका छन् भने कांग्रेसका किशोरदत्त बरालले ३ हजार २८७ मत ल्याएका छन्।