शुक्रबार, असार २७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशमा रहेका नेपालीका लागि आईपीओ जारी गर्दै कालिञ्चोक केवलकार, यसरी भर्न सकिन्छ सेयर

विदेशमा रहेका नेपालीका लागि आईपीओ जारी गर्दै कालिञ्चोक केवलकार, यसरी भर्न सकिन्छ सेयर

कम्पनीले यही मंसिर १४ गतेदेखि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो, जुन जारी पुँजी ६० करोडको २० प्रतिशत हुन आउँछ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं– कालिञ्चोक केवलकार सञ्चालन गरिरहेको कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा उनीहरुलाई आईपीओ जारी गर्न लागेको हो। 

कम्पनीले यही मंसिर १४ गतेदेखि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो, जुन जारी पुँजी ६० करोडको २० प्रतिशत हुन आउँछ। 

कम्पनीका अनुसार १२ लाख कित्तामध्ये १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावितका लागि छुट्याइएको छ  भने १० करोड ८० लाख रुपैयाँ अर्थात् १० लाख ८० हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानीय बासिन्दाले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीले पहिलो चरणको आईपीओको अन्तिम मिति मंसिर २८ गते राखेको छ। यद्यपि, पूर्ण आवेदन नपरेमा भने स्थानीयका लागि निष्काशन अवधि पुस १४ गतेसम्म लम्ब्याउन सकिने कम्पनीले जनाएको छ। 

वैदेशिक रोजगारमा गएकाहरुका लागि छुट्याएको सेयरमा आवेदन दिँदा रेमिट्यान्स बचत खाता मार्फत मात्र भुक्तानी गर्नुपर्नेछ।। सेयर आवेदन दिने खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने व्यवस्था रहेको छ। 

आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा बसेर काम गर्नेले मात्र भर्न पाउने छन्। विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकका लागि हितग्राही खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी खोल्न सकिनेछ। विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुका लागि बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट सिआरएन नम्बर लिई आवेदन दिने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको सेयर निष्कासन तथा बाँडफाँड भएपछि मात्र सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन हुनेछ। कालिञ्चोक केवलकारको सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। 

हालसम्म कम्पनीले ५० हजार पर्यटकलाई केबलकार सेवा प्रदान गरेको छ भने २ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ। यो वर्ष सुरु भएपछि यात्रुको संख्यामा वृद्धि भएकाले सन् २०२२ मा गत वर्षको भन्दा यो वर्ष आम्दानी बढ्ने कालिञ्चोक केवलकारले जनाएको छ।

सन् २०२१ मा कालिञ्चोक दर्शन लिमिटेडले ३ करोड ६९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। सन् २०२० मा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो। दोलखामा निजी लगानीमा सञ्चालित कालिञ्चोक केबलकारले कुरी उपत्यकाबाट कालिञ्चोकसम्म १ किलोमिटर लामो दूरीमा केवलकार सञ्चालन गरिरहेको छ। प्रतिघण्टा १९२ यात्रु ओसारपसार गर्ने क्षमता रहेको केवलकारमा ४ वटा गोन्डोला रहेका छन्। सेयर पुँजी २९ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको ऋण २२ करोड २० लाख रुपैयाँ छ।

कम्पनीमा ८५ जना संस्थापक लगानीकर्ता (प्रवर्द्धक) ले १८ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन्। बाँकी १२ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ।

प्रकाशित: Nov 22, 2022| 11:49 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्