काठमाडौं– आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणनामा कैलालीका ५ मध्ये ३ क्षेत्रमा रेशम चौधरीपत्नी रञ्जीता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक नागरिक उन्मुक्ति पार्टीले अग्रता बनाएको छ।
रञ्जीताले क्षेत्र नम्बर १, अरुण चौधरीले क्षेत्र नम्बर २ र गंगाराम चौधरीले क्षेत्र नम्बर ३ मा अग्रता बनाएको छ।
कैलाली १ मा रञ्जिताले २ हजार ३१९ मतान्तरका साथ अग्रता लिएकी छिन्। १३ हजार ३७१ मत गणना हुँदा रञ्जीताले ६ हजार ५७९ मत पाएकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजनम चौधरीले ४ हजार २६० मतसहित उनलाई पछ्याइरहेका छन्। तेस्रोमा नेकपा एमालेका तपेन्द्र रावलले १ हजार ३६० मत पाएका छन्।
कैलाली क्षेत्र नम्बर २ मा ५ हजार २६५ मत गणना हुँदा अरुणले १ हजार ७७५ मत पाएका छन्। उनलाई पछ्याइरहेका गठबन्धन उम्मेदवार नेकपा माओवादीका भगत बडुवालसँग १ हजार ६२१ मत रहेकोमा तेस्रोमा नेकपा एमालेका झपटबहादुर बडुवालले १ हजार ३७१ मत पाएका छन्।
कैलाली ३ मा ४८ हजार ४६ मत गणना हुँदा उन्मुक्तिका गंगारामले १६ हजार ६९३ मत पाएका छन्। दोस्रोमा नेकपा माओवादीका कृष्ण चौधरीसँग १२ हजार ६९८ मत रहेकोमा निवर्तमान सांसद नेकपा एमालेका गौरीशंकर चौधरी ७ हजार ४१४ मतसहित तेस्रोमा छन्।
कैलाली ४ मा नेकपा एमालेका लेखराज भट्टले अग्रता बनाएकोमा क्षेत्र नम्बर ५ को मतगणना भर्खरै सुरु भएको छ। क्षेत्र नम्बर ४ मा ६ हजार ४२८ मत पाएका भट्टलाई गठबन्धन उम्मेदवार कांग्रेसका वीरबहादुर बलायरले ५ हजार ९७६ मतसहित पछ्याइरहेका छन्।
यसैगरी बर्दिया क्षेत्र नम्बर २ मा पनि उन्मुक्तिले अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणामअनुसार ४१ हजार ८८ मत गणना हुँदा यहाँ रेशमका पिता लालवीरले १६ हजार ४५८ मतसहित अग्रता बनाएका छन्। दोस्रोमा गठबन्धनबाट माओवादीका सुरेश पन्थले १० हजार ८९३ मत पाएका छन्। तेस्रोमा रहेको नेकपा एमालेका पंकजसिंह राठौरसँग ६ हजार ५५५ मत रहेको छ।