काठमाडौं- आइतबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ। केही स्थानको अन्तिम परिणाम आउने क्रम पनि सुरू भइसकेको छ।
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म चार स्थानको मतपरिणाम आइसकेको छ। काठमाडौं १, मनाङ, मुस्ताङ र ललितपुर २ को अन्तिम नतिजा आएको हो।
काडमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्। उनले ७ हजार १४३ मत पाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन्। मिश्रले ७ हजार ११ मत पाए।
नेपाली कांग्रेसले मनाङमा पनि जित हासिल गरेको छ। मनाङमा टेकबहादुर गुरुङ २ हजार ५७५ मतसहित विजयी भएका हुन्। उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन्। गुरुङले २ हजार २४७ मत पाए।
मुस्ताङ १ मा पनि कांग्रेसकै योगेश गौचन थकालीले जितेका छन्। उनले ३ हजार ९९२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाए।
नेकपा एमालेले भने ललितपुरबाट खाता खोलेको छ। एमालेका प्रेमलाल महर्जन निर्वाचित भएका छन्। ललितपुर २ बाट निर्वाचित उनले १५ हजार २५ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८८६ मत पाए।