विराटनगर– मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये अहिले ४ वटा क्षेत्रको मतगणना जारी छ। गणना भइरहेकामध्ये ३ वटामा प्रत्यक्ष तर्फ र क्षेत्र नं. ३ मा समानुपातिकको मत गणना भइरहेको हो।
प्रत्यक्ष तर्फ मतगणना भइरहेका मोरङ ४ र मोरङ ६ मा सत्तारुढ गठबन्धनले अग्रता कायम गरेको छ। क्षेत्र ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता कायम गरेका छन्। २ हजार १४४ मत गणना हुँदा एमालेका विनोद ढकाललाई पछि पार्दै मोदीले १ हजार १४८ मत पाएका छन्। ढकालले ६३१ मत पाए।
क्षेत्र नं ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ७२१ मतसहित अग्रता कायम गरेका हुन्। १ हजार ६४७ मत गणना हुँदा एमालेका पण्डितले ५३४ मत सहित पछ्याइरहेका छन्।
मोरङ-५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) ले अग्रता कायम गरेका छन्। २ हजार ४६ मत गणना गर्दा स्वतन्त्रका मण्डलले १ हजार ५५३ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डलले ५७० र जनता समाजवादी पार्टीका राजकुमार यादवले २८६ मत प्राप्त गरे।
मोरङ-३ मा समानुपातिकतर्फ नेपाली कांग्रेसले अग्रता कायम गरेको छ। कांग्रेसले ४६८ मत पाउँदा एमालेले १८५ र राप्रपाले १०४ मत प्राप्त पाएका छन्।
मोरङका ४, ५ र ६ को आदर्श मावि विराटनगरमा, क्षेत्र नम्बर १ को उर्लाबारी, २ को रतुवामाईको विश्वनाथ मन्दिर र क्षेत्र नं. ३ को भगवती मावि बेलबारीमा गणना भइरहेको छ।
दिउँसो साढे १ बेजेदेखि क्षेत्र नं. ३, ४, ५ र ६ को मतगणना शुरु भएको हो। मोरङ १ को गणना सुरु गर्ने तयारी भइरहेको छ। मोरङ २ मा राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।