विराटनगर- नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइरालाले आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन्।
विराटनगर ६ को आदर्श मावि मतदान केन्द्रबाट विहान ७:५० मा मतदान गर्दै उनले दण्डहीनताको अन्त्य गर्दै सुशासन र मुलुकको आर्थिक समृद्धि आफ्नो पहिलो प्राथमिकता रहेका बताए। आफू निर्वाचित भएर गएपछि दण्डहीनता अन्त्य र सुशासनका पक्षमा संसदमा सधैं आवाज उठाउने चर्चा गरे।
'मुलुकमा अहिले दण्डहीनता मौलाउँदै गएको छ। जनताले सुशासनको प्रत्याभूति गर्न छाडेका छन्', कोइरालाले भने, 'दण्डहीनताको अन्त्य गरी सुशासनमात्रै कायम गर्न सकियो भने मुलुकको विकास समृद्धि हुन्छ।’
कोइरालाले निर्वाचनपछि नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने दाबीसमेत गरे। उनले भने, ‘निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ। त्यसपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्छ।’