विराटनगर- मोरङमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतदान उत्साहजनक रूपमा सुरु भएको छ।
मोरङका अधिकांश मतदान केन्द्रहरुमा ७ बजे नै मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए। केही मतदान केन्द्रहरुमा प्राविधिक कारण निर्धारित समय भन्दा केही ढिला भएको थियो।
मोरङका ८३९ वटै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको मोरङ प्रहरीका प्रमुख शान्तिराज कोइरालाले बताए।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर मोरङमा १३ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ। निर्वाचन सम्पन्न गराउन ७ हजारभन्दा बढी सुरक्षाकर्मी र ६ हजारभन्दा बढी कर्मचारी परिचालन गरिएका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।
मतदानस्थल ३ सय ६ वटा रहेको मोरङमा ८ सय ३९ वटा स्थायी र २ वटा अस्थायी मतदान केन्द्र छन्। मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता छन्। जसमा ३ लाख ७४ हजार ३ सय २६ पुरुष र ३ लाख ६१ हजार १ सय ९३ महिला छन्।
मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन्।