काठमाडौं- नेपालको पर्यटनको मुख्य आधारमध्ये एक नेपालको भौगोलिक विविधतामा अटेका मनोरम दृश्यहरुबीचको संसारकै अग्लो स्थान ‘सगरमाथा’ हो। सबैभन्दा अग्लो स्थानमा पुग्ने चाहना हरकोहिको हुन्छ तर, त्यहाँ पुग्न सबैले सामर्थ्य राख्दैनन्। सगरमाथाको बेस क्याम्पसम्म भने धेरै पुगेका हुन्छ। ट्रेकिंग मार्फत बेसक्याम्पसम्म जानको लागि दैनिक सयौं पर्यटक नेपाल आउँछन्।
यतिबेला संसारभरका दर्शकले नेपालको सगरमाथा बेसक्याम्पमा पुगिरहेका बलिउड सुपरस्टारहरुलाई चलचित्र मार्फत हेरिरहेका छन्। अर्थात् बलिउड चलचित्र ‘उचाइ’ यतिबेला विश्वव्यापी चलिरहेको छ, जसमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनि डेङ्गजोङ्पा, परिणिती चोपडा लगायतका कलाकारहरुको अभिनय छ। सुरज बड्जत्याले निर्देशन गरेको यो चलचित्रले सगरमाथा बेसक्याम्प ट्रेकको पूर्ण अनुभुति त दिन्छ नै नेपाली ढाका टोपी, नेपाली कागज तथा नेपालको संस्कृतिलाई समेत इमान्दारिताका साथ पेश गरेको छ। सम्भवत इतिहासमा नै पहिलोपटक कुनै विदेशी चलचित्रले नेपालप्रति यति धेरै इमान्दारी देखाएका छन्। कुनै विदेशीले आफ्नो चलचित्रमा नेपालको झण्डा फहराउनु कुनै मामुली इमान्दारिता होइन। चलचित्रको अन्तिमतिरको त्यो दृश्यले नेपालीहरुको मन बहकाउन सफल छ।
यो चलचित्रले सगरमाथालाई सबै कष्टहरुको समाधानको प्रतीकको रुपमा प्रस्तुत गरेको छ। हामीले उनिहरुले चलचित्रमा पेस गरेका फरक-फरक व्यक्तिहरुका कथालाई जीवन उपयोगीताको रुपमा स्विकार्न सक्छौं भने ति कथाको मुख्य श्रोतले नेपालको पर्यटन प्रवर्धनमा योगदान दिएको छ। पर्यटन प्रवर्धनको हेतु विभिन्न कार्यहरु गर्दै आएको नेपाल पर्यटन बोर्डले शुक्रवार साँझ ‘उचाइ’को विशेष प्रदर्शनी आयोजना गरेको थियो।
उक्त प्रदर्शनीमा पर्यटन व्यवसाय तथा चलचित्रसँग सम्वद्ध व्यक्तिहरुको उपस्थिति थियो। बोर्डले यस प्रकारले अन्य विदेशी चलचित्रहरुमार्फत नेपालको पर्यटन प्रचार हुने विश्वास राख्दै उक्त प्रदर्शनी आयोजना गरेको थियो जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको पनि उपस्थिति थियो।
पर्यटन बोर्डका व्यस्थापक सूर्य थपलियाले चलचित्र र पर्यटन क्षेत्रको सहकार्यको ढोका खोल्ने प्रयासस्वरुप प्रदर्शनी आयोजना गरिएको बताए। उनले भने, 'चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डबीच सहकार्यको ढोका खोल्ने काम गरेका हौं। चलचित्र क्षेत्रले नेपालको पर्यटनमा कति फरक पार्छ भन्ने कुरा ‘उचाइ’ले देखाएको छ। विशेष गरी विदेशी फिल्म नेपालमा यसरी खिचेर देखायो भने हामीले सजिलै नेपाललाई विश्वमाझ चिनाउन सक्छौँ। जसको लागि चलचित्र विकास बोर्डको साथ जरुरी छ।' थपलियाले भारतसहितका विदेशी चलचित्रहरुको नेपालमा छायांकन गर्ने वातावरण मिलाउन चलचित्र क्षेत्रसँग सहकार्य गर्न लागेको जिकिर गरे।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विदेशी फिल्म नेपालमा छायांकन गरी नेपालको हरेक क्षेत्रको हित हुने काममा बोर्ड सदैव साथमा रहेको प्रतिक्रिया दिए। उनले बोर्डको नीति धेरै भन्दा धेरै विदेशी चलचित्रलाई नेपालमा छायांकनको लागि बोलाई नेपाललाई ‘छायांकन हब’ बनाउने रहेको बताए। चलचित्र विकास बोर्डका अधिकृत चिरञ्जीवी गुरागाईंले पछिल्लो समय नेपालमा विभिन्न हलिउड तथा अन्य चलचित्र उद्योगको नजरमा समेत नेपालको लोकेसन परेको बताए।