काठमाडौं- निर्वाचन आयोगले दुई मन्त्रीलाई जरिवानाको निर्णय गरेको छ। निर्वाचन आचारसंहिता पालना नगरेको आरोपमा उनीहरूलाई जरिवाना गर्ने निर्णय आयोगले गरेको हो।
सहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रूपैयाँ जरिवानाको निर्णय आयोगले गरेको छ। निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसुरमा उनलाई आयोगले जरिवानाको निर्णय गरेको हो।
मन्त्री चौधरीले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको ठहर छ। चौधरीले आफ्नो क्षेत्रमा बाढी पीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको बताइएको छ। चौधरी दाङ-१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एसबाट उठेका छन्।
यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारबाहीको सिफारिस गरेको छ। उनले निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको आयोगको ठहर छ। उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ।