काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि हुने मतदानमा उत्साहपूर्वक सहभागिता जनाउन आह्वान गरेकी छन्। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको अघिल्लो दिन उनले यस्तो आग्रह गरेकी हुन्।
राष्ट्रपति भण्डारीले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिविम्बित गर्ने बताइन्। जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको उनको भनाइ छ।
निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा नागरिकले मताधिकार प्रयोग गर्दै सम्पन्न हुने आमनिर्वाचनबाट लोकतान्त्रिक प्रणाली र संस्थाहरू क्रमशः जनउत्तरदायी हुँदै उनको विश्वास छ।
राष्ट्रपति भण्डारीले आम निर्वाचनबाट शासन प्रणालीमा जनताले खोजेको सुशासन र पारदर्शीता स्थापित गर्न मद्दत पुग्ने जनाउँदै स्वस्थ र सबल लोकतन्त्रबाट नै शान्ति, स्थायित्व र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सकिने उल्लेख गरेकी छन्।
यस्तै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन्। उनले मतदानको तयारी पूरा भएको समेत जानकारी दिए।
मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुन्न मतदान हुँदैछ।