काठमाडौं- आइतबार बिहान ७ बजेदेखि सुरु हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य व्यक्तिको संख्या १ करोड ७९ लाख ८८ हजार ३८५ छ। साँझ ५ बजेसम्म उनीहरूले देशभरका १० हजार ८ सय ९१ मतदानस्थल र २२ हजार २ सय २६ मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउनेछन्।
देशका १८ मतदान केन्द्रमा एक सय जना भन्दा पनि कम मतदाता छन्। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ को समर आधारभूत विद्यालय मतदानकेन्द्रमा ३४ जनाले मतदान गर्दैछन्। यस्तै डोल्पाको से–फोक्सुण्डो गाउँपालिका—६ को फोतगाउँस्थित वडा कार्यालय मतदान केन्द्रमा पनि ३४ जना नै मतदाता छन्। यी दुई केन्द्र देशकै सबैभन्दा कम मतदाता भएका मतदान केन्द्र हुन्।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र-५ स्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा अधिकतम ३५ जना मतदाताले भोट हाल्नेछन्। बारागुङ मुक्ति क्षेत्र-३ को घ्याकरस्थित अरनिको आधारभूत विद्यालय केन्द्रमा ६२ जनाले भोट हाल्नेछन्। सोही गाउँपालिका—१ लुप्रास्थित लुप्रा आधारभूत विद्यालय केन्द्रमा ६३ जना मतदाता छन्।
मुस्ताङकै लोमान्थाङ गाउँपालिका-२ सम्जुङस्थित सम्जुङ आधारभूत विद्यालय केन्द्रमा ६० जना मतदाता सहभागी हुँदैछन्। लोघेकर गाउँपालिका-४ को आधारभूत विद्यालय मतदान केन्द्रमा ६८ जना मतदाताले मतदान गर्ने निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। घरपझोङ गाउँपालिका-१ स्थित छैरो आधारभूत विद्यालयमा पनि जम्मा ७४ जनाले मतदान गर्दैछन्।
कम मतदाता रहेको जिल्लाको सूचीमा रहेको डोल्पाको से-फोक्सुण्डो गाउँपालिका-७ टासीसुम्दो आधारभूत विद्यालय कुगाउँ मतदान केन्द्रमा जम्मा ७९ जना मतदाताले भोट हाल्दैछन्। भारत र चीन दुवै देशको सिमानामा पर्ने ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका ७ को याङ्मा मतदान केन्द्रमा ६१ जना मतदाता छन्। सोही पालिका वडा नं. ६ को ग्याब्ला आधारभूत विद्यालय मतदान केन्द्र पनि जम्मा ६७ जना मतदाता रहेको आयोगको अभिलेखमा उल्लेख छ।
देशकै सबैभन्दा कम मतदाता रहेको मनाङ जिल्लामा पनि एक सय जनाभन्दा कम मतदाता केन्द्र धेरै छन्। नार्पाभूमि गाउँपालिका—१ नारगाउँको वडा कार्यालय केन्द्रमा जम्मा ९६ जना मतदाता छन्। मनाङ नार्पाभूमि—४ स्थित फू आधारभूत विद्यालय केन्द्रमा ७८ जना र ५ को कार्यालय भवन मतदान केन्द्रमा जम्मा ७१ जना मतदाता हुनेछन्। सदरमुकाममा अवस्थित चामे गाउँपालिका—५ को कार्यालय भवन केन्द्रमा पनि जम्मा ९३ जना मतदाताले भोट हाल्दैछन्।
दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित वेदिङ प्रावि मतदान केन्द्र रोल्वालिङमा ९७ जनाले मतदान गर्ने भएका छन्। हिमाली भेगमा पर्ने गोरखाको चुमनुब्री गाउँपालिका-४ को नाम्रुङ स्वास्थ्यचौकी केन्द्रबाट जम्मा ८३ जनाले भोट हाल्दैछन्। सोही पालिकाको साम्दो आधारभूत विद्यालय केन्द्रबाट जम्मा ९८ जनाले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ।
कुल मतदातामध्ये सबैभन्दा धेरै मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाताले मतदान गर्दैछन् भने सबैभन्दा कम मनाङ जिल्लाबाट ६ हजार ७ सय ७९ ले मतदान गर्ने आयोगको तथ्यांक छ। सबैभन्दा कम मतदाता रहेको सूचीको दोस्रो नम्बरमा पर्ने मुस्ताङमा जम्मा १० हजार ९ सय ५७ मतदाता छन्।