सिमरा- बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवम् पूर्व श्रममन्त्री किसान श्रेष्ठलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
मौन अवधीको समयमा कार्यकर्तासहित परवानीपुर गाँउपालिकामा घरदैलो गरेका श्रेष्ठलाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।
नेकपा एकीकृत समाजवादीका नेता श्रेष्ठले निर्वाचन आचारसंहिता विपरित शुक्रबार प्रदेशसभाका उम्मेदवार जितेन्द्र सोनलसहित कार्यकर्ताको समूह लिएर घरदैलो गरेका थिए। मौन अवधीको समयमा निर्वाचन आयोग र प्रशासनलाई बेवास्था गर्दै श्रेष्ठले घरदैलो गरेपछि विरोध भएको थियो।
निर्वाचन आचारसंहितालाई लत्याउँदै घरदैलो गरेको खबर सार्वजनिक भएपछि आयोगले श्रेष्ठ र सोनल दुवैलाई स्पष्टीकरण सोधेको हो। बारा क्षेत्र नं. ४ का निर्वाचन अधिकृत कर्ण राईले मौन अवधीको समयमा घरदैलो गरेको विषयलाई लिएर आयोगले दुवै उम्मेदवारसँग स्पष्टीकरण माग गरेको बताए।
श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो। यसअघि श्रेष्ठले परवानीपुरमा फ्रि भिसा फ्रि टिकटमा युवालाई मलेसिया पठाईदिने भन्दै आफ्नो चुनावी ब्यानरमुनी अन्तर्वार्ता राखेका थिए। म्यानपावरको प्रयोग गरेर पूर्वमन्त्री श्रेष्ठले मतदातालाई प्रभावित पार्न खोजेपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। आयोगले स्पष्टीकरण सोधेपछि उम्मेदवार श्रेष्ठले जीतपुरस्थित निर्वाचन अधिकृतको कार्यालयबाट स्पष्टीकरण पत्र बुझाएका थिए।
तर उम्मेदवारलाई श्रेष्ठलाई सोधेको पहिलो स्पष्टीकरणको विषयमा आयोगको कुनै निर्णय आएको छैन। पहिलो स्पष्टीकरणको निर्णय नआउँदै आयोगले श्रेष्ठलाई दोस्रोपटक स्पष्टीकरण सोधिएको हो।