हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर-८ ईपास्थित गंगटे जंगलमा एक जनाको शव फेला परेको छ।
शुक्रबार साँझ हेटौंडा-८ निवासी २५ वर्षीय कृष्ण मोक्तानको शव जंगलको खोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।
भीमफेदी र बकैयाँ गाउँपालिकाको सिमानामा पर्ने लटरम्भेश्वर मन्दिर जाने बाटोबाट करिब ५ सय मिटर तल खोल्सामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रारम्भिक अनुसन्धानबाट मोक्तानको लडेर मुत्यु भएको हुनसक्ने अनुमान गरिए पनि एकिन भने भइनसकेको प्रवक्ता कार्कीले बताए। मोक्तानको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालस्थित शव गृहमा ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।