काठमाडौं- नेपाल र यूएईको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलका क्रममा ‘लाइभ बेटिङ’ गर्दै गरेको अवस्थामा नेपाल प्रहरीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरबाट एक हूललाई पक्राउ गरेको छ। उनीहरूलाई दर्शकदीर्घाबाट पक्राउ गरिएको हो।
हरेक बलपिच्छे लाइभ बेटिङ राखेको, ब्याटिङ र पूरै खेलको पनि बाजी लगाएको, पैसा अनलाइनबाटै लेनदेन गरेको पाइएपछि कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ५० जनालाई नियन्त्रणमा लिएको थियो।
त्यसमा ६ जनाको संग्लग्नता नदेखिएपछि उनीहरूलाई छाडिएको छ। बाँकी पक्राउ परेका ४४ जना सबै भारतीय भएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ८० थान मोबाइल बरामद गरिएको छ।
लाइभ बेटिङ प्रकरणको सीआईबी र साइबर ब्युरोले संयुक्त रूपमा अनुसन्धान गरिरहेको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम सुवेदीले बताए। यूएईले ब्याटिङ गरिरहेको अवस्थामा सुरुआती घन्टामै दर्शकदीर्घामा रहेका शंकास्पद व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सबैलाई सीआईबीको नियन्त्रणमा राखिएको छ। सोमबार भएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलबाटै उनीहरूलाई निगरानीमा राखेर शुक्रबार प्रमाण भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।