काठमाडौं- 'बेलायत पठाइदिन्छु' भन्दै ११ लाख २० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं मैतिदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका-२ ठेगाना भएका ३३ वर्षीय तिलकबहादुर बस्नेत छन्। उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका सञ्चालकसमेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायतलगायतका देशमा भिसा उपलब्ध गराउने प्रलोभन देखाएर पटक-पटक गरी उक्त रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
अनुसन्धानको क्रममा उक्त कन्सलटेन्सी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमति समेत नलिई सञ्चालन गरेको पाइएपछि उनलाई पुतलीसडकबाट पक्राउ गरेको हो।
उनीमाथि ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।