काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजमा प्राविधिक समस्या आएपछि आन्तरिक उडान ठप्प भएको छ। निगमले आन्तरिक उडानका लागि हाल प्रयोग गरिरहेको एक मात्र ट्विनअटर जहाजमा पनि प्राविधिक समस्या आएपछि आन्तरिक उडान ठप्प भएको हो।
शुक्रबार काठमाडौँबाट भोजपुरका लागि उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। जहाजमा १५ जना सवार थिए।
आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन्। जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको छ। गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने निगमले जनाएको छ।
निगमसँग आन्तरिक उडानमा तीन थान ट्वीनअटर जहाज रहेकामा एउटा जहाज मर्मत नै गर्न नसकिने अवस्थामा छ। अर्को जहाज लामो समयदेखि प्राविधिक मर्मतमा रहेको निगमले जनाएको छ।