काठमाडौं– ‘नेपाल साह्रै सुन्दर रहेछ, हामी पनि जानुपर्छ घुम्न’, पत्रकार राजेश मिश्र दिल्लीमा उचाइ फिल्म हेर्दाको अनुभव यसरी सामाजिक सन्जालमा लेख्छन्, ‘दिल्लीको हलमा मेरो छेवैमा उचाइ फिल्म हेर्दै गरेकी एक आमासँग किशोरी छोरीको संवाद हो, यो ।’
बलिउड फिल्म उचाइमा दोहोरिइरहने हिमशृंखला दृश्य र संवादले नेपाललाई विश्वमाझ पुनः चर्चामा ल्याएको छ। उच्च हिमाली जिल्लाका मनमोहक दृश्य समेटिएको उचाइको अधिकांश छायांकन नेपालमा गरिएको हो। नेपाल चिनाउन खोजेको बलिउड फिल्ममा परेको छ, उचाइ।
११ नोभेम्बरबाट प्र्रदर्शनमा आएको फिल्मको छायांकनका क्रममा मुख्य कलाकार अमिताभ बच्चन उपस्थित थिएनन्। नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो। मुम्बईमा भएको छायांकनमा भने अमिताभले नै अभिनय गरेका थिए।
सन् १९९२ मा नेपालको हिमाली क्षेत्रमा छायांकन गरिएको फिल्म खुदा गवाहका लागि अमिताभ नेपाल आएका थिए।
फिल्ममा डेनी डेन्जोङ्पा सोलुखुम्बुबासीको भूमिकामा छन्। उनले आफ्ना बुढ्यौलीको साथीहरू अमिताभ, अनुपम र बोमनलाई नेपाल ल्याउने प्रयास गरे पनि त्यो सफल हुँदैन। डेन्जोङ्पाको निधनपछि उनको अस्तुलाई नेपालमा विसर्जन गर्ने अठोट लिएर बाँकी तीन कलाकार नेपाल आउने कथा फिल्ममा देखाइएको छ।
नेपाली गाइड परिणति चोपडाले उनीहरूलाई हिमाल लैजाने र घुमाउने भूमिका निर्वाह गरेकी छन्। यात्रामा यी तीन साथीहरूबीच आउने आरोह–अवरोह नै मूल कथा हो। भारतीय लेखक सुनील गान्धी सामाजिक सन्जालमा लेख्छन्, आशा र विश्वासको सम्बन्धलाई सम्बोधन गर्छ, उचाइले।’
‘पहाड र हिमाल एक पटक जानुपर्छ । त्यसले हामीलाई आफ्नो आफू को हुँ भन्ने महसुुस गराउँछ’, अभिनेता अनुपम खेरले कपिल शर्मा शोमा समेत नेपालको प्रशंसा गरेका छन्। स्वयम्भू, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङलगायत ठाउँमा करिब एक महिना लगाएर फिल्मको छायांकन गरिएको थियो।
बलिउडमा स्थापनाको ७५औं वर्ष पूरा गरेको राजश्री प्रोडक्सनले निर्माण रहेको फिल्मलाई सुरज बडजात्याले निर्देशन गरेका छन्। ‘केटीको केटीको बर्फ बदन है’, बोलको गीतमा अमिताभ बच्चन, अनुपम खेर, बुमन इरानी, डैनी डेन्जेङ्पाले नेपाली ढाका टोपी लगाएर नाचेपछि नेपालको मौलिकतामाथि अन्तर्राष्ट्रिय नजरमा टोपी आकर्षणको विषय बनेको छ, यतिखेर।
अनुपम खेरले भिडियो ट्वीटरमा सेयर गर्दै खुसी व्यक्त गर्दै लेखेका छन्, ‘नेपाली फिल्म हलमा उचाइ, जय हो।’ बक्स अफिसमा राम्रो कमाइ गरिरहेको फिल्मको कथालाई नेपाली कलाकारले मन पराएको अभिव्यक्ति दिइरहेका छन्। नेपाली कलाकारले सिनेमाटोग्राफको तारिफ गर्दै उचाइले पर्यटन प्रवद्र्धनमा सघाउने बताएका छन्।
जियोग्राफिक रूपमा अब्बल पाइएको उचाइको सिनोमाटोग्राफर मनोजकुमार खटोई हुन्, जसले हिमाली सौन्दर्यलाई उचाइको कथासँग म्याच गराएका छन्।
सरकारले कोभिडका कारण भिजिट नेपाल २०२० लाई स्थगित गरेको थियो। त्यसयता नेपालमा सिनेमा प्रदर्शन तथा फिल्म छायांकन पातलिएको थियो। कोराना महामारी मत्थर भएसँगै सिनेमा क्षेत्र चलमलाएको छ। यही मेसोमा उचाइका निर्देशक बट्जात्यले सम्पूर्ण टिमका साथ नेपालमा सुटिङ गरे।
नेपालकै पात्रलाई मूलकथा बनाइएको फिल्म छायांकन गर्न २०० हाराहारी प्राविधिक भारतबाट आएका थिए। त्यसमा नेपाली प्राविधिक तथा कलाकारले समेत काम गर्ने अवसर पाएका थिए।
७० प्रतिशत छायांकन नेपालमै गरिएको बलिउड फिल्म उचाइमा दोहोरिइरहने हिमशृंखलाका दृश्य र संवादले मुलुकलाई विश्वमाझ पुनः चर्चामा ल्याएको छ।
नेपालमै खिचिएको फिल्म भए पनि नेपालका नाम चलेका फिल्म वितरक कम्पनीले नेपाल भित्र्याउन चासो देखाएका थिएनन्। पछि राजन पुरी, विराज कडरिया र सुनील मानन्धरले मिलेर वितरण गरेका थिए। नेपालमा यो फिल्म छायांकन गर्दा २० करोड रुपैयाँ खर्च भएको फिल्म निर्माण कम्पनी थ्री ह्विलर्स फिल्मस्का प्रमुखले बताएका छन्।
७० प्रतिशत नेपालमा छायांकन गरिएको उचाइमा बलिउडका विख्यात कलाकारले अभिनय छ। हिमाली देश र ढाकाटोपीसहितको देशका रूपमा नेपाल चिनिन सक्छ। चलचित्रले ओरालो लागेको पर्यटन व्यवसायलाई फर्काउन सघाउने पर्यटन व्यवसायी बताउँछन्।
सन् २००९ मा प्रदर्शनमा आएको चलचित्र थ्री इडियट्सले लद्दाखलाई चिनाउन सघाएको थियो। राजकुमार हिरानीा निर्देशित तथा आमिर खान अभिनीत थ्री इडियट्सले भौगोलिक रूपमा मात्रै नभएर लद्दाखको एक प्रतिभावान व्यक्तिको कथा भनेको थियो। ती व्यक्ति सोनम वाङचुक थिए, जुन फिल्ममा रान्चो उर्फ फुन्सुक वाङडु थियो। यिनको भूमिकामा आमिर खान थिए।
वाङचुकको चरित्रबाट प्रेरित थ्री इडियट्सले विश्वभर फिल्म पारखीको मन जितेको थियो। सोनम आफ्नो आइस स्टुस स्टुपाका लागि चर्चित छन्। भनिन्छ, यस फिल्म प्रदर्शनमा आएपछि खोज र आविष्कारका लागि विद्यार्थीले लद्दाखलाई रोजेका थिए, जुन अहिले पनि शैक्षिक र सांस्कृतिक आन्दोलनको केन्द्रबिन्दु भइरहेको छ।
अभिनेता दीपकराज गिरी सामाजिक सन्जालमा उचाइ हेरेको अनुभव सुनाउँछन्, ‘चलचित्र हेरिरहँदा नेपाल र सगरमाथाबारे बोलिएका मन छुने संवादले आँखा त्यसै–त्यसै रसाएर आउँछ। भारतबाट नेपालको विषयमा बनाइएको सम्भवतः सबैभन्दा राम्रो चलचित्र।’
चलचित्र निर्देशक मिलन चाम्सले नेपाली भूमिलाई राम्रोसँग देखाएको भन्दै फिल्म हेर्न आग्रह गरे। ‘मैले यसअघि विदेशी फिल्म प्रमोसन गरेको थिइनँ। उचाइले नेपालको भूमिलाई गज्जब तरिकाले खिचेको छ,’ उनले भने।
नेपाल पर्यटन बोर्डले पनि उचाइका निर्देशक तथा कलाकारलाई सम्मान गर्ने भएको छ। पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने तयारी थालेको बोर्डका सीईओ धनञ्जय रेग्मीले बताएका थिए। रेग्मीका अनुसार ‘उचाइ’का निर्देशक र कलाकार नेपाल आउने अवस्था रहे राष्ट्रपति वा प्रधानमन्त्रीकै स्तरबाट सम्मान गरिनेछ।