काठमाडौं– आगामी आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुरक्षा बन्दोबस्तीलाई प्रभावकारी बनाउन नेपाली सेनाले सुरक्षा गस्ती सुरु गरेको छ। सेनाले निर्वाचनलाई लक्षित गरी राजधानीसहित मुलुकभरका विभिन्न स्थानमा गस्ती सुरु गरेको हो।
निर्वाचनका लागि देशभर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी २ लाख ९८ हजार ४७९ जना सुरक्षाकर्मी परिचालित भइसकेका छन्।
निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि ७४ हजार ८४९ नेपाली सेना, ७१ हजार ६९३ नेपाल प्रहरी, ३५ हजार ११६ सशस्त्र प्रहरी बल, १ हजार ८२१ राष्ट्रिय अनुसन्धान विभाग र १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अति संवेदनशील मतदान केन्द्रलाई लक्षित गरी हवाई गस्तीको समेत प्रबन्ध गरिएको बताएका छन्। थपलियाले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको जानकारी दिए।
निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको जानकारी दिँदै उनले जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकारसम्पन्न घुम्ती टोली परिचालन गरिने बताए।