काठमाडौं- असहाय, असक्त, बेसहारा तथा अभिभावकविहिन मानवहरूको उद्धार तथा संरक्षण गर्दै आएको मानवसेवा आश्रमद्धारा आयोजित ‘नेपथ्य लाइभ कन्सर्ट’मा नेपालकै उत्कृष्ट इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्यूनिकेशन प्रा.लिले सहकार्य गर्ने भएको छ।
आउँदो मंसिर १६ गतेदेखि देशका प्रमुख १० शहरमा आश्रमले आयोजना गर्न लागेको नेपथ्य लाइभ कन्सर्टको ‘पावर्ड वाइ स्पोन्सर’ रहने गरी आज आश्रम र वर्ल्डलिंक बीच सम्झौता भएको हो।
सम्झौतापत्रमा आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिना र वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवले हप्ताक्षर गर्नुभएको छ। सबै कार्यक्रममा वर्ल्डलिंक ले निशुल्क वाइफाइको व्यवस्था गर्ने पनि जनाएको छ।
सो क्रममा यादवले संस्थाको सामाजिक उत्तरादायित्वअन्तरगत सामाजिक कार्यमा सक्रिय मानवसेवा आश्रम जस्तो संस्थासँग हातेमालो गर्न पाउँदा खुसी लागेको बताउनुभयो। आश्रमका कोषाध्यक्ष तिमिल्सिनाले वर्ल्डलिंकको साथले कार्यक्रम सफल पार्न महत्वपूर्ण योगदान गरेको प्रतिक्रिया दिनुभयो।
सामाजिक सेवामा सक्रिय वर्ल्डलिंक कम्यूनिकेशन प्रा.लि.ले विगतदेखि नै आश्रमको अभिभावकत्व ग्रहण गरी सहयोग गर्दै आएको छ। उक्त संस्थाले आश्रमका सबै सेवा केन्द्रहरुमा विगत चार वर्षदेखि निःशुल्क इन्टरनेट सेवा दिँदै आएको छ भने यहाँ आश्रित आमाबुबा (लक्ष्मीनारायण) र बालबालिका (बालगोपाल) हरुलाई न्यानो कपडा समेत उपलब्ध गराएको छ। वर्ल्डलिंकले आश्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ भने मानसिक रोगसम्बन्धीका केही औषधिसमेत निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
मानवता प्रवद्र्धनका साथै मानवसेवा आश्रमको भवननिर्माण तथा अक्षयकोष स्थापनार्थ चर्चित साङ्गीतिक समूह नेपथ्य व्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमले नेपालका प्रमुख १० शहरहरुमा ‘नेपथ्य लाइभ कन्सर्ट’ आयोजना गर्न लागेको छ। कन्सर्टको तयारी तिव्र रुपमा भइरहेको र टिकट विक्री जारी छ।
‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ अन्तर्राष्ट्रियस्तरको उक्त लाइभ कन्सर्ट आगामी मङ्सिर १६ गते विराटनगरबाट शुरु हुने छ। विराटनगरपछि मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौंडाको भुटनदेवी स्कुलचौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा हुने छ। यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा र १६ गते काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट हुने छ।
मानवसेवा आश्रम सहयोगापेक्षी (बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन, औषधोपचार, पालनपोषण र जीवन रक्षा गर्दै परिवार खोजेर पुनःमिलनसमेत गराउने अभियानमा एक दशकदेखि सक्रिय रहेको संस्था हो।
त्यसरी सडक तथा प्रतिक्षालयहरुमा भेटिएका मानवहरुलाई देश÷विदेशमा रहनुभएका परोपकारी उदारमना व्यक्तिहरुको मुठ्ठिदानको सहयोगमा आश्रमले संरक्षण गर्दै आइरहेकोछ। तर कतिपय अबस्थामा व्यक्तिहरुबाट प्राप्त आर्थिक तथा जिन्सी सामाग्रीले मानवसेवा आश्रममा आश्रित मानवहरुको खाना र नानाको व्यवस्थापनमा समेत कठिनाइ हुँदै आएको छ।
अझ भाडामा रहेको आश्रमका सेवा केन्द्रहरुले दाताको सहयोगमा मात्रै भाडा तिर्नसक्ने अबस्था नरहेकाले अहिले आफ्नै भवन निर्माण अभियान जारी छ। यसका अलावा सयौंको संख्यामा रहेका असहाय असक्त, अभिभावकविहिन, शारीरिक तथा मानसिक रुपमा अति कमजोर मानवहरु आश्रित मानवसेवा आश्रमका लागि कुनै पनि प्रकारका विपत्ति, भवितव्य वा कठिन परिस्थितिमा प्रयोग गर्न मिल्नेगरी कम्तिमा २५ करोड बराबरको अक्षयकोष स्थापना गर्न लागिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए।
सोही क्रममा मानवसेवा आश्रमको भवननिर्माण तथा अक्षयकोष स्थापनाका लागि अर्थ सङ्कलन गर्ने उद्देश्य बोकेर यसपटक नेपालका प्रमुख १० शहरहरुमा नेपथ्य लाइभ कन्सर्ट आयोजना गर्न लागिएको हो। त्यस कार्यक्रमको टिकट विक्री, प्रायोजक तथा सहप्रायोजकबाट सङ्कलित रकम मानवीय कार्यमा नै खर्च गरिनेछ।