काठमाडौं– ‘चालु पुँजी कर्जा मार्गदर्शन २०७९’ को उद्यमी व्यवसायीहरुले विरोध गरेपछि नेपाल राष्ट्र बैंकले सच्याउने भएको छ। कात्तिक १ गतेदेखि लागु भएको सो मार्गदर्शन राष्ट्र बैंकले गत बुधबार एक सूचना जारी गरी मुख्य बुँदा संशोधनसहितको सुझाव माग गरेको हो।
मार्गदर्शनमा भएका बुँदाले तरलता अभाव र आर्थिक मन्दीको अवस्थामा आफूलाई असर पर्ने भन्दै उद्यमी व्यवसायीले आन्दोलनमा कार्यक्रमहरु अघि बढाइसकेका थिए। तर नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा चुनावसम्मका लागि आन्दोलन रोकिएको छ। सूचनामा केही सुझाव भएमा मंसिर १० भित्र बुझाउनका लागि भनिएको छ।
उक्त मार्गदर्शन अनुसार कुनै व्यवसायीले चालू पूँजी कर्जामा आधारित २ करोड रुपैयाँसम्मको कर्जा माग गर्दा बिक्रीको अधिकतम २० प्रतिशतसम्म कर्जा माग गर्न सकिने उल्लेख छ, जसलाई राष्ट्र बैंकले थप स्पष्ट पारेको छ ।
यस्तै विस्तृत विवरणको आधारमा भने ऋणीले ४० प्रतिशतसम्म कर्जा माग गर्न सकिने कार्यविधिमा उल्लेख छ। २ करोड बढीको लागि कर्जा माग गर्दा कुल विक्रीको २५ प्रतिशत र स्थायी कर्जाका लागि बैंकको नीतिअनुसार कर्जा लिन सकिने उल्लेख छ। यस्तो कर्जाको अवधि ५ वर्षको हुनेछ। यिनै बुँदाहरुका कारण उद्यमी व्यवसायीहरु उक्त कार्यविधिप्रति रुष्ट बनेका थिए।