काठमाडौं– गत साता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनलाई फोन आयो। फोन गर्ने महिलाले भनिन्, ‘डा.साब मलाई चक्कर लाग्ने, टाउको भारी हुने, निद्रा नलाग्ने, कपाल झर्ने, काम गर्न मनै नलाग्ने हुन्छ। के भएको हो? डा. पुनले सोधे, ‘योभन्दा अगाडि कुनै बिरामी हुनुभएको थियो? उक्त महिलाले जवाफ दिइन्, ‘मलाई डेंगु भएको थियो। एक साता अस्पतालमा भर्ना भएर घर फर्किएकी हुँ। त्यसपछि राम्रोसँग काम गर्न मन लाग्दैन। यस्तो समस्या निरन्तर भइरहेको छ।’
डा. पुनले उनलाई पोस्ट डेंगुको समस्या हुन सक्ने औंल्याए। डा. पुनलाई पछिल्लो एक महिनायता निरन्तर यस्ता समस्या सुनाउँदै फोन गर्नेको संख्या बढिरहेको छ।
पछिल्लो समय डेंगु संक्रमण हुनेको संख्या कम भएको छ तर पहिला संक्रमित भएकालाई विभिन्न समस्या देखिन थालेका छन्। डेंगु संक्रमण भइसकेका बिरामी निको भएको एक महिनाभन्दा लामो समय हुँदासमेत राम्ररी तंग्रिन सकेका छैनन्। विशेषगरी डेंगु संक्रमित भएर जटिल अवस्थामा पुगेका बिरामीलाई पोस्ट डेंगुको समस्या देखिएको डा. पुन बताउँछन्। डेंगु नेगेटिभ आइसकेपछि पनि स्वास्थ्यमा निरन्तर रूपमा समस्या देखिएको भन्दै अस्पताल पुग्ने र फोनबाट परामर्श लिनेको संख्या बढ्दै गएको डा. पुनको भनाइ छ।
डा. पुन भन्छन्, ‘यस्ता समस्या लिएर सम्पर्क गर्नेहरू सबैलाई डेंगु संक्रमण भएको रहेछ। उनीहरूले कम्तीमा दुई वा बढी लक्षण अनुभव गरिरहेका छन्। शरीर तातिएको महसुस हुने, शरीर गल्ने, कमजोरी महसुस हुने, सुतिराख्न मन लाग्ने, काममा ध्यान नजाने, टोलाएर बस्नेलगायत समस्या देखिएका छन्।’ डा. पुनले यस्तो समस्यालाई पोस्ट डेंगुको संज्ञा दिए।
चिकित्सा क्षेत्रमा पोस्ट डेंगुको आधिकारिक परिभाषा नबने पनि आफूले यसलाई पोस्ट डेंगु भनेको बताउँछन्, डा. पुन। डेंगु संक्रमण भएको महिनाभन्दा लामो समयसम्म पनि स्वास्थ्यमा समस्या देखिरहे ‘पोस्ट डेंगु’ को अवस्था भन्न सकिने डा. पुनको दाबी छ।
गत असारदेखि उकालो लाग्न थालेको डेंगु संक्रमणबाट नेपालमा ५१ हजार बढी मानिस संक्रमित भएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखको तथ्यांकअनुसार हालसम्म ५१ हजार १७७ जना संक्रमित भएका छन् भने ५८ जनाको डेंगु संक्रमणकै कारण मृत्यु भएको छ। यो सरकारी तथ्यांकमा मात्रै हो। तर डेंगु संक्रमिते यो तथ्यांकभन्दा ५ गुणा बढी हुन सक्ने स्वास्थ्यका अधिकारीहरू नै बताउँछन्।
गत असारदेखि उकालो लाग्न थालेको डेंगु संक्रमणबाट नेपालमा ५१ हजार बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाले ज्यान गुमाइसकेका छन्। विभिन्न अस्पतालबाट पोस्ट डेंगुका बिरामीबारे ठूलो संख्याका विवरण आइरहे पनि छुट्टै क्लिनिक सञ्चालन गर्न आवश्यक नरहेको भन्दै सरकारले बेवास्ता गरिरहेको छ।
नेपालमा डेंगु पुष्टि भएयताका वर्षमध्ये सबैभन्दा धेरै महामारीको रूप लिएको यसै वर्ष हो। यसभन्दा अगाडि सन् २०१९ मा ६ जनाको मृत्यु भएको थियो। डा पुन भन्छन्, ‘यस अगाडिका वर्षमा डेंगु संक्रमण भएपछि निको भइसकेपछि पुनः समस्या लिएर आउनेहरू भेटिएका थिएनन् तर हाल दिनप्रतिदिन बढिरहेका छन्।’
डा. पुनका अनुसार डेंगु संक्रमित लामो समय बितिसक्दा पनि पूर्ण रूपमा निको हुन सकेका छैनन्। उनीहरूमा थोरै शारीरिक काम गर्दा पनि छिटो स्याँ–स्याँ हुने, थकान, मांसपेशी तथा जोर्नी दुख्ने, कार्यक्षमतामा ह्रास आउने, मानसिक रूपमा कमजोर हुने, एकाग्रता नहुने, नाक सुक्खा हुनेलगायत समस्या देखिन थालेका छन्।’
संक्रमितहरू चिकित्सककहाँ डेंगुपछि आफूले केही काम गर्न नसकेको, जाँगर नलाग्ने, बोल्न पनि मन नलाग्नेलगायत शारीरिक तथा मनोवैज्ञानिक समस्या लिएर पुग्ने गरेका छन्।
डेंगु संक्रमणमुक्त भए पनि खानामा रुचि नलागेको गुनासो बिरामीको हुने गरेको छ। डा. पुन भन्छन्, ‘पोस्ट कोभिडको समस्या देखिएका बिरामीमा यति जटिलता देखिएको थिएन, जति पोस्ट डेंगुको समयमा देखिएको छ। डेंगुको समय कडा समस्याबाट गुज्रिएका बिरामी हाल पोस्ट डेंगुको समस्याबाट गुज्रिरहेका छन्। बिरामीलाई खास उपचार छैन। तर उनीहरूलाई परामर्श र लक्षणअनुसारको उपचार गरेर पठाइएको छ।
डा. पुनका अनुसार जटिल अवस्थाबाट गुज्रिएका बिरामी अझै पहिलाकै अवस्थामा फर्किन सकेका छैनन्। उनीहरूलाई सामान्य अवस्थामा फर्किन केही समय लाग्छ। हाल बिरामीमा एन्जाइटीको लक्षण बढेको हुन सक्ने डा. पुन बताउँछन्।
विभिन्न अस्पतालबाट पोस्ट डेंगुका बिरामीबारे विवरण आइरहे पनि ठूलो संख्यामा त्यस्तो समस्या नदेखिएकाले त्यसका लागि छुट्टै क्लिनिकको आवश्यकता नपरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तर्क छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरका अनुसार पोस्ट डेंगुको समस्या देखिएका मानिस पछिल्लो समय अस्पतालमा बढिरहेका छन्। तर यसका लागि छुट्टै क्लिनिक नै राखेर उपचार गर्नुपर्ने अवस्था छैन। डा. ठाकुर भन्छन्, ‘पोस्ट डेंगुको समस्या लिएर अस्पतालमा बिरामी पुगिरहेको भन्ने जानकारी आइरहेका छन् तर उनीहरूलाई लक्षणको आधारमा उपचार गरेर सम्भव हुने भएकाले छुट्टै क्लिनिक राखेर उपचार गर्नुपर्ने अवस्था छैन। कोभिड नयाँ रोग भएकाले पोस्ट कोभिडका क्लिनिक सञ्चालन गरिएको हो। तर डेंगु वर्षौंदेखि देखिएकाले यसको समस्या एक–दुई महिनासम्म रहे पनि विस्तारै निको हुने हुँदा तत्काल पोस्ट डेंगु क्लिनिक सञ्चालन गर्न आवश्यक छैन।’
डा. पुन अझै एक महिना डेंगुको जोखिम हुने बताउँछन्। विगतका वर्षमा यतिबेला डेंगु देखिन सुरु हुने समय हो। तर यो वर्ष नेपालमा यतिबेला डेंगु पिकमा पुगेर पनि तल झरिरहेको छ। डेंगु कम देखिएका जिल्लामा भने अबको एक महिना अझै जोखिमयुक्त समय हो। चिकित्सकका अनुसार पोस्ट डेंगुको अनुभव नेपालमा नयाँ भएकाले यसबारे धेरैलाई थाहा नभएको हुन सक्छ।