काठमाडौं– राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीनमहिने तथ्यांकअनुसार समीक्षा अवधिमा समग्र उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत पुगेको छ। साउनमा समग्र उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत, भदौमा ८.६४ प्रतिशत र असोजमा ८.५० प्रतिशत मूल्यवृद्धि भएको हो। गत वर्ष असोजमा मूल्यवृद्धि ४.२४ प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहमा १५.९१ प्रतिशत, फलफूलमा १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थमा १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डामा ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थमा ८.४४ प्रतिशतले मूल्यवृद्धि भएको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहमा २१.१५ प्रतिशत, स्वास्थ्यमा १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणमा ९.४५ प्रतिशत, शिक्षामा ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुमा ७.६८ प्रतिशत मूल्यवृद्धि भएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मूल्यवृद्धि भएको छ। २०७८ असोजमा यी क्षेत्रमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मूल्यवृद्धि भएको थियो।