काठमाडौं– नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक (एनसीसी) को साधारणसभा स्थगन हुने भएको छ। निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने निर्वाचनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ का उम्मेदवार मोहन बस्नेतसमेत सञ्चालक रहेको र उनले साधारणसभामार्फत मतदाता प्रभावित पार्न सक्ने भन्दै एनसीसी बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको हो।
बैंकको साधारणसभा आगामी २ मंसिरमा काठमाडौंमा गर्ने निर्णय भएको थियो। सो साधारणसभा मौन अवधि सुरु भइसकेपछि हुने र ठूलो संख्यामा मानिस भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेरसमेत गर्न लागेको आयोगमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा आगोगले साधारणसभा रोक्न निर्देशन दिएको हो।
निर्वाचन आचारसंहिता विपरीत त्यसरी साधारणसभा गर्दा निर्वाचन आचारसंहिता उल्लंघन हुनुका साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पर्न सक्ने भएकाले आयोगले रोक्न निर्देशन दिएको हो।