शनिबार, असार २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारको ध्यान चुनावतिर, मनलाग्दी बढाइयो उपभोग्य वस्तुको मूल्य

सरकारको ध्यान चुनावतिर, मनलाग्दी बढाइयो उपभोग्य वस्तुको मूल्य

बजारमा उपभोग्य वस्तुको मूल्य बढ्नुको कुनै कारण नभएर ठूला व्यापारीले चुनावमा पार्टीहरूलाई दिएको चन्दा असुल्न निर्वाचनकै बेला मूल्यवृद्धि गरेको उपभोक्ताको आरोप।
 |  बुधबार, कात्तिक ३०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३०, २०७९

काठमाडौं– सरकारका संयन्त्र आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिएसँगै व्यापारीले उपभोक्ताको ढाड सेक्ने गरी उपभोग्य वस्तुको मूल्य १५ प्रतिशत बढीले बढाएका छन्। चुनावको मौका छोपेर व्यापारीले उपभोग्य वस्तुको मूल्यवृद्धि गरेका हुन्। 

बजार नियमनकारी निकायका सरकारी कर्मचारी निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोकेको उपभोक्ताको गुनासो छ। नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र वज्राचार्यले दसैं–तिहारपछि मात्रै दैनिक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताए।     

पछिल्लो दाल, चामल मात्रै नभई हरेक खाद्यान्नमा मूल्य बढेर आएको उनको भनाइ छ। पूर्वअध्यक्ष वज्राचार्यले पछिल्लो एक वर्षमा ३० प्रतिशत बढी मूल्यवृद्धि भएको जानकारी दिए। दसैं–तिहारको समय प्रतिलिटर २४० पर्ने खानेतेल अहिले २८० रुपैयाँ पुगेको उनले बताए। सनफ्लावर, भटमास तथा तोरी तेलमा प्रतिलिटर ४० रुपैयाँले मूल्य बढेको छ।

भारतले नेपालमा चामल आयातमा प्रतिबन्ध लगाएपछि एक बोरा चामलमा ४०० रुपैयाँसम्म मूल्य बढेको छ। भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर हटाउँदा चामलको मूल्य घटेर आए पनि नेपाली चामल उद्योगीले अहिलेसम्म पुरानो मौज्दात भन्दै महँगोमा बिक्री गरिरहेको उनको दाबी छ। 

वज्राचार्यले बजारमा उपभोग्य वस्तुको मूल्य बढ्नुको कुनै कारण नभएर ठूला व्यापारीले चुनावमा पार्टीहरूलाई दिएको चन्दा असुल्न निर्वाचनकै बेला मूल्यवृद्धि गरेको आरोप लगाए। निर्वाचनको समय सरकारी कर्मचारी निर्वाचन केन्द्रित भएको मौकामा बजारमा उपभोग्य वस्तुको मूल्य बढाउँदा उपभोक्ता मारमा परिरहेको उनले बताए। 

अनुगमन गर्ने निकायले बजारमा कुनै वस्तुको मूल्यवृद्धि भए खुद्रा पसलमा गएर अनुगमन गर्ने तर ठूला व्यापारीकहाँ जान नसक्दा मूल्यवृद्धि भइरहेको उनको बुझाइ छ। कुलेश्वरका खाद्यसामग्री होलसल व्यापारी मनोज श्रेष्ठ खानेतेल, दाल, चामलको मूल्य बढेर आएको बताउँछन्। भारतले नेपालमा धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत करका कारण चामलको मूल्य धेरै बढेको उनको दाबी छ।

प्रकाशित: Nov 16, 2022| 11:30 बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्