काठमाडौं– नेपाल बैंकर्स संघले आउँदो मंसिरका लागि बैंकिङ ब्याजदर नघटाउने निर्णय गरेको छ। मंगलबार बसेको संघको बैठकले मंसिरका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो।
आर्थिक सूचकको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज हुन नसकेको निष्कर्ष निकाल्दै संघले मंसिरका लागि ब्याजदर यथावत् राख्ने निर्णय गरेको संघका उपाध्यक्षसमेत रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए।
संघले अघिल्लो महिना भद्र सहमतिलाई भंग गर्दै ब्याजदर निर्धारणको अधिकार बैंकहरूलाई नै दिएको थियो। त्यसपछि वाणिज्य बैंकहरूले आफूखुसी निक्षेपमा १० प्रतिशतसम्मले ब्याजदर बढाएका थिए।
व्यक्तिगत मुद्दती बचतको ब्याजदर ११.०३ प्रतिशत कायम भएको छ भने रेमिट्यान्स खातामा बैंकहरूले १२.०३ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याज दिँदै आएका छन्। निक्षेपको ब्याजदर बढेसँगै कर्जाको ब्याजदर बढेर १८ प्रतिशत माथि पुगेको छ।