काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक आपसमा गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।
दुई बैंकको मर्जरका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चलरअचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १:१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरेका छन्।
मर्जर पश्चात बैंकको कूल पुँजी ५७ अर्ब र चुक्ता पूँजी ३५ अर्ब ७७ करोड पुग्ने बैंकका अधिकारीहरूले बताएका छन्। बैंकको कूल निक्षेप ४ खर्ब र कूल कर्जा ३ खर्ब ७९ अर्बभन्दा बढि हुने बताइएको छ।
मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।
नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट दुई जना रहनेछन्।
त्यसैगरी, बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नै निरन्तरता पाउने भएका छन्।
दुई बैंकहरुको मर्जर पश्चात ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु रहने छन्। बैंकको ४० लाखभन्दा बढी ग्राहक हुने बैंकका अधिकारीले बताएका छन्।