काठमाडौं– नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालू आवमा पेट्रोलियम पदार्थ खपत कम भएको बताएको छ। यसअघि चाडपर्व तथा निर्वाचनको समय पेट्रोलियम खपतमा वृद्धि हुने गरेको थियो।
आगामी निर्वाचन नजिकिए पनि पेट्रोलियम खपत बढ्न नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। उनका अनुसार गत वर्ष कात्तिकको तुलनामा चालू वर्षको कात्तिकमा पेट्रोल तथा डिजेल खपतमा ठूलो परिमाणमा कमी आएको छ।
२३ कात्तिक २०७८ सम्म ६३ हजार ३१५ किलोलिटर पेट्रोल र १ लाख ३५ हजार ८१२ किलोलिटर डिजेल खपत भएको थियो। २३ कात्तिक २०७९ सम्म ४४ हजार ५१३ किलोलिटर पेट्रोल र ७८ हजार ४२६ किलोलिटर मात्रै डिजेल खपत भएको छ।
तरलता अभाव तथा विकास निर्माणको सिजन नहुँदा निर्माण ठप्प हुनु, तेलको मूल्यमा वृद्धि, नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको हो। ट्यांकर चालकले भारतमै तेल हाल्दा, सीमानजिक हुनेले भारतमै पेट्रोलियम खरिद गर्दा खपतमा कमी आएको हुन सक्ने निगमको अनुमान छ।