काठमाडौं– भारतीय मुद्रा (भारु) अमेरिकाको ‘करेन्सी लिस्ट’ बाट बाहिरिएको छ। गत शुक्रबार अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीले भारुलाई मुद्रामा छेडखानी गरेको भन्दै करेन्सी लिस्टबाट हटाएको हो। शुक्रबार अमेरिकाले भारतसहित इटाली, मेक्सिको, थाइल्यान्ड र भियतनामको मुद्रालाई पनि यस्तो सूचीबाट हटाएको जानकारी दिएको छ।
यसअघि ती देशका मुद्रा अमेरिकाको निगरानी सूचीमा रहेका थिए। व्यापारमा लाभका लागि मुद्रामा छेडखानी (आफ्नो मुद्रा डलरको तुलनामा कमजोर बनाइराख्ने) गर्ने मुलुकलाई अमेरिकाले निगरानीमा राख्छ। निर्यात बढी हुने मुलुकले आफ्नो मुद्रा कमजोर बनाएर त्यसबाट पर्याप्त लाभ लिने गर्छन्।
करेन्सी लिस्टबाट हटाउँदा तीन वटा मापदण्ड राखिएकामा पूरा नभए उसले हटाउने गरेको छ। अमेरिकाले आफूसँगको दुईपक्षीय व्यापारमा १२ महिनामा २० अर्ब बढीको व्यापार गर्ने मुलुक, त्यस्तै, सो मुलुकको चालू खाता सोही मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा दुई प्रतिशतले बढी भए र मुद्रामा एकपक्षीय हस्तक्षेप (जीडीपीको २ प्रतिशतभन्दा बढी मुद्रा गरिद गरी आफ्नो मुलुकको मुद्रा बनाइराख्नु) गरिएका मुलुक यस्तो सूचीमा रहन्छन्।
बलियो हुँदै नेपाली मुद्रा
अमेरिकाको मुद्रा लिस्टबाट हटेसँगै भारु बलियो बन्ने सम्भावना रहेको छ। भारतले अमेरिकामा धेरै निर्यात गर्दछ। बढी निर्यात गर्ने भएकाले आयातमा रोक लगाउन भारतले अमेरिकी डलरको तुलनामा भारुको अवमूल्यन गर्दै आइरहेको अमेरिकाको बुझाइ छ। यदि भारतीय मुद्रा अवमूल्यन गरिएको हो भने अब मुद्रा लिस्टबाट हटाएसँगै भारतले आफ्नो मुद्रा अवमूल्यन गर्न पाउँदैन।
सोही कारण भारु डलरको तुलनामा बलियो बन्छ र भारतबाट हुने निर्यात महँगो हुनेछ। यसको असर नेपालमा पनि पर्ने देखिएको छ किनकि नेपाली मुद्रा भारुसँग पेग (स्थिर विनिमय दर) छ। भारु बलियो हुनेबित्तिकै नेपाली मुद्रा पनि बलियो हुनेछ ।
बाह्य क्षेत्र थप दबाबमा पर्न सक्छ
डलरको तुलनामा नेपाली रुपैयाँ बलियो भए नेपालमा हुने आयात सस्तो हुनेछ। आयातीत सामानको मूल्य कम हुँदा नेपालमा थप आयात बढ्नेछ। सोही कारण व्यापार घाटा बढ्ने र त्यसको असर शोधनान्तर र विदेशी मुद्राको सञ्चितिमा पर्ने देखिन्छ।