काठमाडौं– नेपाल धितोपत्र बोर्डमा सूचीकृत संस्थाहरुले मर्ज तथा प्राप्ति गर्नका लागि अनिवार्य रुपमा बोर्डबाट स्वीकृति लिनुपर्ने भएको छ। धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गर्दै बोर्डले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
बोर्डबाट स्वीकृत निर्देशिका आज बिहीबारबाट नै कार्यान्वयनमा आएको बोर्डले जनाएको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्देशिका बनाइएको बोर्डले जनाएको छ। बोर्डमा दर्ता भएका संगठित संस्थाको सञ्चालक समितिले गाभ्ने र गाभिने वा प्राप्ति सम्वन्धी प्रारम्भिक समझदारी गरेको दिन वा सोको भोलिपल्ट कारोबार सयम अगाडि सेयरधनी कारोबार दफा ७ अनुसार साधारणसभा सम्पन्न नभएसम्म रोक्का राख्न आधारभूत सेयरधनीको विवरण सहित संगठित संस्थाले धितोपत्र बजार वा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ।
यसैगरी संगठित संस्थाले अर्को संगठित संस्थासँग गाभ्न र गाभिन वा प्राप्तिका लागि पूर्वस्वीकृतिका लागि बोर्ड समक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। यसका लागि गाभ्ने र गाभिने वा प्राप्ति सम्वन्धनमा साधारणसभाले गरेको निर्णय, संगठित संस्थाहरुले गाभ्ने र गाभिने वा प्राप्ति सम्बन्धमा गरेको प्रारम्भिक समझदारी, पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, खुद सम्पत्ति लगायतका वित्तीय विवरण सहितको लेखापरीक्षकको प्रतिवेदन, मर्ज वा प्राप्ति सम्पन्न गर्न लाग्ने समयको कार्यतालिका, नियमनकारी निकायको पूर्व सहमति वा पूर्व स्वीकृति लिनुपर्ने भएमा त्यस्तो पूर्व सहमति वा पूर्व स्वीकृतिपत्र बोर्डमा पेस गर्नुपर्ने लगायतका व्यवस्था निर्देशिका मार्फत गरिएको छ।
यसैगरी पूर्वस्वीकृति प्रदान गर्ने, ड्यु डिलिजेन्स अडिट तथा शेयर आदान प्रदान अनुपात सम्वन्धी व्यवस्था, गाभ्ने र गाभिने वा प्राप्ति सम्बन्धी प्रस्ताव साधारणसभाबाट पारित गर्नुपर्ने, अन्तिम स्वीकृति सम्वन्धी व्यवस्था समेटेर बोर्डले निर्देशिका कार्यान्वयनमा ल्याएको हो।