काठमाडौं- सेयर बजार परिसूचक नेप्सेमा आइतबार ४३.२० अंकको वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन नेप्से सूचक १९६५.३६ अंकमा उक्लिएको हो।
गत साताको अन्तिम कारोबार दिन बिहीबार १६ अंकले घट्दै नेप्से सूचक १९२२.१६ विन्दुमा अडिएको थियो।
आइतबार कारोबार रकम पनि बढेको छ। आज १ अर्ब ५४ करोड ८० लाख रूपैयाँभन्दा बढीको ३९ लाख १३ हजार कित्ताबराबरको सेयर कारोबार भएको छ। मुचुअल फन्ड बाहेकका अन्य सबै उपसमूहको सूचक बढेको छ।
सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक ४.४८ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको ४.०८ प्रतिशत, अन्य समूहको ४.०५ प्रतिशत, म्यानु एण्ड प्रो ३.८१ प्रतिशत, हाइडोपावर समूहको उपसूचक ३.३५ प्रतिशतले बढेको छ।
आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन हाराहारी कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ।