काठमाडौं– विश्व बैंकले चालू आर्थिक वर्ष (सन् २०२३) मा नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ। सोमबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको हो।
त्यसैगरी बैंकले सन् २०२४ का लागि भने ४.९ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको छ। विश्व बंैकले चालू आर्थिक वर्षमा नेपालमा ५.५ प्रतिशतले मुद्रास्फीति हुने प्रक्षेपण गरेको छ। त्यसैगरी आगामी वर्ष सन् २०२४ का लागि ५.३ प्रतिशतको मुद्रास्फीति अनुमान गरिएको छ।
विश्व बैंकले गरेको यो प्रक्षेपण नेपाल सरकारले चालू आर्थिक वर्ष २०७९–०८० का लागि राखेको आर्थिक वृद्धिको लक्ष्य ८ प्रतिशत र मुद्रास्फीति ७ प्रतिशतको लक्ष्यभन्दा दुवै कम हो। यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले यो वर्ष ४.२ प्रतिशतले नेपालको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो भने एसियाली विकास बैंक (एडीबी) ले ४.७ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो।
विश्व बैंक र एडीबी दुवैले आर्थिक वृद्धिदर घट्ने अनुमानका पछाडि बाह्य क्षेत्रलाई मुख्य कारण मानेका छन्। बढ्दै गएको चालू खाता घाटा, खाद्यान्न लगायत उपभोग्य सामग्रीको मूल्य वृद्धिजस्ता कारणहरुलाई चुनौतीका रुपमा हेरिएको छ। त्यस्तै, कृषि क्षेत्रमा रासायनिक मलको अभाव, गहुँलगायत खाद्यान्न वस्तुहरुको आपूर्तिमा अवरोध, ऊर्जा संकटजस्ता कारणले आर्थिक वृद्धिदर कम हुने ठानिएको छ। उद्योग क्षेत्रमा जलविद्युतको उत्पादनसँगै थप बढ्ने र क्षमतामा पनि वृद्धि हुने प्रक्षेपण गरिएको छ।
विश्व बैंकले पछिल्लो ५ वर्षमा कर्जा दोब्बर हुनु चिन्ताको विषय भएको जनाएको छ। विश्व बैंकले आन्तरिक र बाह्य ऋणको वृद्धिदर सुस्त हुनुपर्नेमा पनि जोड दिएको छ। ‘नेपालको कर्जा धेरै होइन तर पछिल्लो ५ वर्षमा ऋण दोब्बर भएको छ, जुन चिन्ताको विषय हो। सधैं ऋण लिएर मात्रै आर्थिक गतिविधि हुनु हुँदैन,’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंककी अर्थशास्त्री एलिक ब्रोक्सले भनिन्। बैंकले आगामी वर्षका लागि गरेको प्रक्षेपणमा सार्वजनिक ऋणको हिस्सा ४०.९ प्रतिशत हुने अनुमान छ।
बैंकले चालू वर्षका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) कुल गार्हस्थ्य उत्पादनको ०.४ प्रतिशतमात्रै हुने पनि उल्लेख गरेको छ। त्यसैगरी कुल गार्हस्थ्य उत्पादनको तुलनामा ८.८ प्रतिशतले चालू खाता घाटामा रहने पनि नेपाल विकास अपडेटमा उल्लेख छ।