काठमाडौं- बीमा समितिले कोभिड बिमा दावी भुक्तानी गर्न अर्थ मन्त्रालयसँग अनुमति माग गरेको छ। समितिले मन्त्रालयलाई तिहार अगाडि नै दाबी भुक्तानीको अनुमति माग गर्दै पत्राचार गरेको थियो।
सरकारले कोभिड बीमा बापतको दावी भुक्तानी तिर्नुपर्ने १० अर्बमध्ये एक अर्ब रुपैयाँ भदौमा निकासा गरेको थियो। सोही रकम वितरण अर्थले अझै अनुमति भने दिएको छैन।
समितिले जारी गरेको कोरोना बीमा मापदण्ड, २०७७ अनुसार रकम वितरण गर्न असम्भव भएपछि नयाँ व्यवस्था गर्न लागेको हो। वितरण कार्य ढिलाई भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए।
‘पूर्व सम्झौता अनुसार अर्थ मन्त्रालयले रकम निकासा नगर्ने भएपछि नयाँ व्यवस्था गर्न लागिएको छ। फलस्वरुप छलफल भईरहँदा निकासा गरिएको रकम वितरण गर्न सकिएको छैन,’ उनले भने, ‘कोभिड रकम वितरण गर्नका लागि निर्देशन गरी पाउँ भनेर पत्र पठाएका छौँ।’
समितिले रकम वितरण गर्न केही निर्णयसहित अनुमति माग गर्दै मन्त्रालयलाई पत्र पठाएको पौडेलले जानकारी गराए। उक्त निर्णयलाई निर्देशन गर्न तिहार अघिनै पत्र पठाए पनि हालसम्म कुनै जानकारी नआएको बताए।
‘सरकारले निकासा गरेको रकम कम भएपछि थप रकम जोहो भएको छ। बीमा समिति, बीमा कम्पनी र पुनर्बीमा कम्पनीबाट थप रकम संकलन गरेर कोभिडको दावी भुक्तानी तिर्न लागेका छौं,’ उनले जानकारी दिए।
उनका अनुसार थप ८१ करोड रुपैयाँ थप गरि वितरण गर्न लागिएको हो। प्रवक्ता पौडेलका अनुसार समितिले पीसीआर रिपोर्ट दर्ता भएको मिति अनुसार, अनुपातको आधारमा र संघ, संस्थाले प्रिमियम तिरेको आधारमा रकम वितरण गर्ने निर्णय गरेको छ।