आइतबार, असार २९, २०८२

डेढ लाखले पाए सहुलियतपूर्ण कर्जा

राष्ट्र बैंकले तोकिएका क्षेत्रमा सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७९ भदौ मसान्तसम्म १ खर्ब ८ अर्ब ४९ करोड लगानीमा रहेको छ।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं– राष्ट्र बैंकले आव २०७९/८० को भदौ मसान्तसम्म १ लाख ४७ हजार ९२६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म ती ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १३ अर्ब २३ करोड कर्जा बक्यौता रहेको छ।

यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जा ६० हजार ३०२ ऋणीलाई प्रवाह भएकामा १ खर्ब ३९ अर्ब ६७ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ७९० महिला उद्यमीलाई प्रवाह भएको ७० अर्ब १० करोड कर्जा बक्यौता छ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ८३४ ऋणीको ३ अर्ब ४६ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले बताएको छ। ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ बमोजिम कोभिड प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ भदौ मसान्तमा ८९ करोड ७३ लाख बक्यौता रहेको थियो।

राष्ट्र बैंकले तोकिएका क्षेत्रमा सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७९ भदौ मसान्तसम्म १ खर्ब ८ अर्ब ४९ करोड लगानीमा रहेको छ। ग्राहक ऋणीअनुसार स्वीकृत गरिएका पुनर्कर्जाको क्षेत्रगत विवरणअनुसार पर्यटन क्षेत्र सर्वाधिक ५२.२४ प्रतिशत रहेको छ भने जलविद्युत् १७.८३ प्रतिशत, उत्पादनमूलक १४.८३ प्रतिशत, शिक्षा ८.१० प्रतिशत, अस्पताल ३.७८ प्रतिशत, निर्माण व्यवसाय १.८६ प्रतिशत, यातायात ०.८४ प्रतिशत र व्यापार ०.५१ प्रतिशत छ।

प्रकाशित: Oct 30, 2022| 14:31 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्