आइतबार, असार २९, २०८२

नेपालभर झोलुंगे पुलको संख्या ९ हजार ७६७ पुग्यो

चालू आवमा देशभर ७३० झोलुंगे पुल निर्माण गर्ने विभागको लक्ष्य।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं– स्थानीय पूर्वाधार विभागले हाल नेपालभर सञ्चालनमा रहेका झोलुंगे पुलको संख्या ९ हजार ७६७ पुगेको तथ्यांक सार्वजनिक गरेको छ। विभागले गत आर्थिक वर्ष २०७८/७९ मा नेपालभर ५९४ वटा झोलुंगे पुल निर्माण भएको बताएको छ। विभागका तुइन तथा झोलुंगे पुल महाशाखा प्रमुख प्रवेश रेग्मीले गत आर्थिक वर्षमा ५९४ झोलुंगे पुल निर्माण भएको जानकारी दिए। 

यद्यपि स्थानीय पूर्वाधार विभाग स्थापना भएको लामो समय नभएकाले पहिलेका वर्षमा के–कति झोलुंगे पुल बने, त्यसको वार्षिक तथ्यांक विभागसँग नभएको उनको भनाइ छ। विभागले चालू आवमा देशभर ७३० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएको छ। उक्त योजना कार्यान्वयनको चरणमा समेत पुगेको छ।

स्थानीय तह, प्रदेश, संघ तथा स्थानीय पूर्वाधार विभागले पुल निर्माण गरिरहेको उनले बताए। विभागले थप ८०० वटा नयाँ झोलुंगे पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेकामा ११० वटा पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता भइसकेको छ। 

तर विभागले हालसम्म भत्किएका तथा प्रयोग गर्नै नमिल्ने अवस्थाका झोलुंगे पुलबारे अध्ययन नगरिएको बताएको छ। नेपालमा थुप्रै खोलानाला र नदी छन्। यस्तो अवस्थामा सर्वसाधारणको पैदल यात्रा सुरक्षित बनाउन झोलुंगे पुलको महत्त्व छ। तर नेपालमा कति झोलुंगे पुल वा मान्छे हिँड्ने पुल चाहिन्छ भन्ने विषयमा अझै अध्ययन भएको नभएको रेग्मीले बताए।

प्रकाशित: Oct 30, 2022| 13:32 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्