रसुवा– उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षमै विद्युत उत्पादन गरिने भएको छ। भूमिगत संरचनाबाट १११ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उक्त आयोजनाका सम्पूर्ण पूर्वाधार तयार गरी प्राविधिक समूह विद्युत् उत्पादनको उपकरण जडानमा जुटेको हो।
जडान भइरहेका तीन वटा टर्वाइनबाट क्रमिक रूपले आगामी चैतदेखि परीक्षण सुरु गरिनेछ। साथै, चालू आर्थिक वर्षभित्रै तीन वटै युनिटबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न प्राविधिक जुटेका हुन्। भूमिगत रूपले रसुवाको भीरपाखोमा नमुनायोग्य संरचना निर्माण गरी २२ मेगावाट क्षमताको चिलिमे विद्युत् ऊर्जा उत्पादन गरेपछि प्राप्त अनुभवका आधारमा चिलिमे जलविद्युत्कै प्राविधिक समूहले सन् २०१३ बाट निर्माणको अगुवाइ लिएको थियो।
चिलिमेको निर्मातामध्येका एक सदस्य एवं रसुवागढी जलविद्युत कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक माधव कोइरालाको एकल डिजाइन रहेको १११ मेगावाट क्षमताको सो जलविद्युत् आयोजना भौगोलिक असहजताकै कारण निर्माणमा ढिलाइ भएको थियो।
रसुवागढी जलविद्युत आयोजनाका आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानमा छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका कारण २०७९ भित्रै परीक्षण उत्पादन गराउने लक्ष्य लिई प्राविधिक समूहले काम गरिरहेको हो।
उपकरण जडानका लागि दैनिक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भइरहेका छन्। उपकरण जडानमा भोइथ इन्डिया कार्यरत रहेको र उसको काम सन्तोषजनक तवरले अगाडि बढिरहेको इलेक्ट्रिकलका वरिष्ठ महाशाखा प्रमुख ई.महेन्द्रप्रसाद यादवले बताए।
भोटेकोसी खोलाको बाँध, ४ हजार १८५ मिटर लामो हेडरेस सुरुङ सर्चट्यांक, पेनस्टक, टेलरेस सुरुङ, भोटेकोसीबाट पानीसँगै सुरुङमा पस्ने बालुवालाई थिग्राउने पोखरीका सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी उपकरण जडानको काम अगाडि बढेको कम्पनीका सचिव नरनाथ न्यौपानेले बताए।
आयोजनाका कार्यकारी निर्देशक छवि गैरेले भने, ‘सबै प्रकारका अवरोध पार गरी पछिल्लो समय द्रुत गतिले भएको उपकरण जडानकार्यबाट उल्लेखनीय प्रगति हासिल भइरहेका कारण आगामी चैतदेखि परीक्षणतर्फ केन्द्रित हुने लक्ष्य लिएका छौं।’
सन् २०१७ मै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण अगाडि बढाइएको सो आयोजना समयमा सम्पन्न गर्न विविध कठिनाइका कारण ढिलाइ भएको थियो। आयोजना निर्माणको समयावधि लम्बिएका कारण निर्माण लागत केही अंशले बढ्ने प्राविधिकले बताएका छन्। २०७९ भित्रैमा परीक्षण उत्पादन गर्ने अठोट गरिए पनि हालसम्म राष्ट्रिय प्रसारण लाइन तयार नहुँदा उत्पादित विद्युत् केही समयका लागि खेर जानेमा प्राविधिक चिन्ता व्यक्त गर्छन्।
उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा पठाउन टिमुरेदेखि आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेको विद्युत् हबमा लैजान १० किमि लामो अन्तरिक प्रसारण लाइन निर्माण भने अन्तिम चरणमा पुगेको वातावरणविज्ञ तेज साउथले बताए। रसुवागढी तथा साङ्जेन जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत् राजधानी लैजान राष्ट्रिय प्रसारण लाइन निर्माणको काम हाल जारी छ।
नयाँ निर्माण भइरहेको राष्ट्रिय प्रसारण लाइनमा रसुवागढी, साङ्जेन, लाङटाङ खोला, लाङटाङ भोटेकोसी, अपर त्रिशूली–वानसमेतका आयोजनाबाट उत्पादन हुने विद्युत् जडान हुनेछ।–रासस