काठमाडौं– चाडपर्वमा सुनचाँदी माग धेरै हुने गर्छ। त्यसमा पनि तिहारमा बढी हुन्छ। तिहारमा लक्ष्मी पूजाअघिका तीन÷चार दिनमा सुनचाँदीका गरगहना र सामानको माग उच्च हुने सुनचाँदी व्यवसायी बताउँछन्।
यस वर्ष सोमबार लक्ष्मीपूजा गरिसकिएको छ। सुनचाँदी र तामाका समान किनेर लक्ष्मीपूजाका दिन पूजा गर्ने प्रचलनअनुसार सुनचाँदी पसलमा भीड लागेको हो।
अन्य समयको तुलनामा तिहारमा सुनको खपत दोब्बर र चाँदीको खपत तेब्बर हुने गर्छ। एक साताअघिदेखि नै सुनचाँदीका गहना माग बढ्ने भए पनि तिहारको तीन दिन बढी कारोबार बढी हुने व्यवसायीको भनाइ छ।
मुख्य चाडपर्व, तीज, दसैं र तिहारसँगै बिहेको सिजनमा बजारमा सुनको खपत धेरै हुने गर्छ।
आयात कम हुँदा बजारमा सुनचाँदी अभाव देखिएको व्यवसायीको गुनासो छ। चाडपर्वका बेला बजारमा सुनचाँदीको माग धेरै भए पनि आपूर्ति थोरै हुँदा अभाव देखिएको हो।
तिहारमा गरगहनाका लागि र लक्ष्मीपूजा गर्न सुनचाँदीको माग धेरै हुने भए पनि आयात कम हुँदा मागअनुसार आपूर्ति हुन नसकेको महासंघले जनाएको छ।
महासंघ अध्यक्ष माणिकरत्न शाक्यले बजारमा सुन अभाव हुँदा मागअनुसार वितरण गर्न नसकिएको बताए। ‘दुई÷तीन दिनअघिदेखि सुनचाँदीका सामानको माग उच्च छ। बजार मागअनुसार आपूर्ति न्यून हुँदा ग्राहकको आवश्यकताअनुसार सामान उपलब्ध गराउन सकिएको छैन’, शाक्यले भने।
६ महिनाअघिदेखि सुन आयातमा कडाइ हुँदा व्यवसायीसँग भएको सुनको मौज्दात सकिएकाले अहिले बजार व्यवस्थापन गर्न कठिन भएको उनले बताए।
अहिले बजारमा दैनिक ४० देखि ५० केजी सुनको माग रहेकामा आपूर्ति १० केजी मात्र भएको उनले तथ्यांक प्रस्तुत गरे। सामान्य अवस्थामा चाँदी माग दैनिक २ देखि ३ सय केजी हुने गरेकामा अहिले बढेर १ हजार केजीसम्म पुगेको छ।
साताअघि महासंघले बजारमा सुन अभाव भएपछि आयात बढाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्रसमेत बुझाएको थियो।
सरकारले विदेशी मुद्रा सञ्चितिमा प्रभाव पारेको भन्दै गत वैशाखदेखि सुन आयातमा कडाइ गरेर दैनिक १० केजीमा झारेको थियो। यसअघि दैनिक २० केजी सुन आयात हुँदै आएको थियो। वाणिज्य बैंकले सुन आयात गर्दै आएका छन् ।