भक्तपुर– फूल खेतीका लागि प्रसिद्ध भक्तपुर सूर्यविनायक नगरपालिका वडा–७ गुन्डुका किसानले तिहारमा फूलमाला बिक्री गरी ३ करोड बढी आम्दानी गरेका छन्।
यहाँका किसानले व्यावसायिक रुपमा पाँच रोपनी क्षेत्रफलसम्म फूल खेती गरिरहेका छन्। प्रत्येक किसानले वार्षिक रुपमा न्यूनतम ५ सयदेखि १० हजार वटासम्म माला बिक्री गर्दै आएका छन्। वडाध्यक्ष रवीन्द्र सापकोटाले तिहारअघि मात्रै ३ करोड बराबरको माला बिक्री भइसकेको जानकारी दिए।
गत वर्ष मात्रै ३ हजार माला बिक्री गरेकी पार्वती नगरकोटीले यस वर्ष भने ५ हजार माला बिक्री गर्ने बताइन्। नगरकोटीले एक रोपनीमा फूल खेती गरिरहेकी छन्।
किसानले माला प्रतिगोटा २५ देखि ३५ मा बिक्री गर्छन्। अर्का किसान पवित्रा बस्नेतले यस वर्ष पनि फूल र मालाको माग गत वर्षको तुलनामा धेरै भएको बताइन्। एक रोपनी जग्गामा फूलखेती गरिरहेकी उनी यस वर्ष करिब १२ सय वटासम्म माला बिक्री गर्ने योजनामा छन्।
गुन्डुका किसानले प्रत्येक वर्षको फागुनमा नर्सरी राखेर चैत अन्तिममा मकै र भटमाससँगै मखमली फूल रोप्दै आएका छन्। ‘मकै र भटमाससँगै चैत अन्तिममा लगाएको फूल साउनको पहिलो साताबाट टिप्न सुरु हुन्छ’, किसान मेनुका नगरकोटीले भनिन्।
स्थानीयले मात्रै नभई जग्गा भाडामा लिएर फूल खेती गर्नेहरु पनि थपिएपछि यहाँ फूल उत्पादन बढेको छ। सूर्यविनायक नगरपालिकाले वडा कार्यालयमार्फत यहाँका फूल खेती गर्ने किसानलाई यस वर्ष ६० हजार फूलको बेर्ना वितरण गरेपछि सयपत्री फूलतर्फ पनि यहाँका वासिन्दा आकर्षित भएका हुन्।
चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई पनि माला गाँस्न र बजारमा लैजान भ्याइनभ्याइ छ। फूल खेतीको पुख्र्यौली पेसा अँगालेका किसान श्याम वनमालाले फूल खेतीबाट चित्तबुझ्दो कमाइ भइरहेको बताए।
विगत १० वर्षदेखि मखमली फूल खेती गर्दै आएकी स्थानीय शोभा वालाले यहाँ दुई आना जग्गामा फूल खेती गर्नेले पनि एउटा मौसममा ३० हजार कमाउने गरेको बताइन्। राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा ७० हजारदेखि १ लाखसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ।–रासस