काठमाडौं– गुराँस लाइफ इन्स्योरेन्स कम्पनीकोे १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारित गरेको छ।
साधारणसभाले गुराँस लाइफसहित युनियन लाइफ र प्राइम लाइफ एकआपसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ भने मर्जरका लागि सञ्चालक समितिबाट भएका कामको अनुमोदन गरेको छ।
यस्तै, कम्पनीको सम्पत्ति दायित्व मूल्यांकन गर्न मूल्यांकनकर्ता, परामर्शदाता र लेखापरीक्षक नियुक्ति, तिनको पारिश्रमिक निर्धाण, एकआपसमा गाभ्ने/गाभिने प्रस्ताव पारित गर्न बीमांकीय मूुल्यांकनकर्ता नियुक्ति प्रस्ताव पारित गरेको छ। साधारणसभाले मर्जरका लागि सबै अख्तियारी सञ्चालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गरेको छ।
यस्तै, गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९१७१ प्रतिशत नगद लाभांश प्रस्तावलाई साधारणसभाले अनुमोदन गरेको कम्पनीले बताएको छ।