काठमाडौं– चालू आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थामा निक्षेपको संरचनामा परिवर्तन देखिएको छ। राष्ट्र बैंकले साउन र भदौ महिनाको तथ्यांक सार्वजनिक गर्दै निक्षेप संरचनाको परिवर्तन संकेत गरेको हो।
बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढेसँगै कुल निक्षेपमा मुद्दतिको अनुपात ५८.८ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बचतमा मुद्दतिको अंश ४९.२ प्रतिशत रहेको थियो। ब्याजदरको असर चल्ती खातामा पनि परेको छ। चल्ती खातामा सामान्यतया ब्याज नदिने भएकाले यसबाट प्राप्त हुने निक्षेप ०.२ प्रतिशतले घटेर ७.७ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष चल्ती खाताबाट प्राप्त हुने बचत ७.९ प्रतिशत रहेको थियो।
यसैगरी कुल निक्षेपमा साधारण बचतको अनुपात पनि घटेको छ। कुल बचतमा ३५ प्रतिशत रहेको साधारण बचतको अनुपात समीक्षा अवधिमा घटेर २६.५ प्रतिशत कायम भएको छ। अन्य बचतबाट प्राप्त हुने निक्षेप पनि ८.४ प्रतिशतबाट घटेर ७.१ प्रतिशत कायम भएको छ। समिक्षा अवधिमा समग्र निक्षेप भने ०.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यसै अवधिमा ०.७ प्रतिशतले बढेको थियो।
वार्षिक विन्दुगत आधारमा भदौ मसान्तमा भने बैंक तथा वित्तीय संस्थामा निक्षेप ७.४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.२ प्रतिशत रहेको छ । २०७८ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ४०.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।